| मङ्लबार, कार्तिक २४, २०८३

जगत, सल्लेरीमा १५ दिनदेखि विद्युत सेवा अवरुद्ध


चुमनुब्री गाउँपालिका वडा नं. ३ अन्तर्गतका विभिन्न गाउँहरु अहिले विद्युतविहिन भएका छन् ।

साविक सिर्दिबास गाविसका जगत, सल्लेरी, भालुवन लगायतका गाउँबस्तीका बासिन्दा दुईसातादेखि विद्युत सेवा उपभोग गर्नबाट बञ्चित भएका हुन् ।


‘भालुवन पावरहाउसमा समस्या आएपछि गत भदौको १३ गतेदेखि यस क्षेत्रमा विद्युत छैन’, जगतका गणेश कार्कीले भने, ‘न विजुली बत्ती बाल्न पाइएको छ, न त टिभी, मोबाइलको सेवा लिन पाएका छौँ । फोन गर्न पनि गाउँबाट झण्डै आधाघण्टा परको डाँडामा पुग्नुपर्छ ।’ अहिले पर्यटकको सिजन सुरु भएको छ, तर विद्युत र सञ्चार संपर्क विच्छेद हुनुपर्दा समस्या भएको उनको भनाइ छ ।


विद्युत सेवा अवरुद्ध हुँदा कुटानी, पिसानी मिल तथा अन्य घरेलु उद्योगहरु पनि बन्द भएका छन् । प्रथम त्रैमासिक परीक्षाका विद्यार्थीहरुलाई पठनपाठनमा समेत समस्या भएको स्थानीयबासीको गुनासो छ ।


मर्मत सम्भारका लागि धेरै पटक अनुरोध गरेको भए पनि अहिलेसम्म मर्मत हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्