
छेपेटारमा दशैंँ रमाइलो मेला सुरु
गोरखा नगरपालिका १० छेपेटारमा दशैँ रमाइलो मेला सुरु भएको छ । गोरखा तामाङ समाजको आयोजनामा विहिबारदेखि दशैँ रमाईलो मेला सुरु भएको हो । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मेलाको उद्घाटन गरेका थिए ।
भदौ २३ गतेबाट सुरु भएको मेला असोज ४ गतेसम्म संचालन हुनेछ । यसअघि असोज ३ गतेदेखि गर्ने भनिएको मेला हरमटारी क्लवले आयोजना गर्ने मेलासँग एउटै समयमा पर्न गएकाले भदौ २३ गतेबाट मेला संचालन गरिएको आयोजकले जनाएको छ । मेलामा कृषि, लत्ताकपडा लगायतका सबै गरी एक सय १२ स्टल रहेका छन् । त्यस्तै, मनोरन्जनका लागि पिङहरु सबै राखिएका छन् । मेलामा भोलि देखि गोरखा डान्स आइटल पनि सुरु हुने मेला व्यवस्थापक शिव केसीले जानकारी दिए ।

जिल्लाभित्रका तामाङ समुदायको भाषा, संस्कृतिको प्रवद्र्धन तथा स्थानीय स्तरमा उत्पादित खाद्यजन्य वस्तुहरुको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको आयोजक तथा समाजका अध्यक्ष बुद्धडोङ तामाङले जानकारी दिए । मेलामा करिब ४५ लाख खर्च हुने अनुमान गरिएको छ । मेला अवधिभर करिब १५ हजार दर्शकले अवलोकन गर्ने उनले बताए ।
मेलाबाट १५ लाख नाफा गर्ने आयोजले अनुमान गरेको छ । सो आम्दानी रकमलाई समितिको निर्णय अनुसार सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट पनि साँगीतिक तथा नृत्य प्रदर्शन रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगर, धार्चे गाउँपालिकाकी उपप्रमुख सुनिला गुरुङ, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ गोरखाका अध्यक्ष विष्णु रानामगर, गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल, वडा नम्बर १० का वडा अध्यक्ष लगायतले स्थानीयहरुको उपस्थिति रहेको थियो ।




