| मङ्लबार, कार्तिक २४, २०८३

गोनपा वडा नं १० को कार्यालय अब छेपेटारमा पनि

गोरखा नगरपालिका वडा नं १० को कार्यालय दुई ठाउँबाट सञ्चालन हुने भएको छ । यसअघि स्थापित वीरेन्चोकको वडा कार्यालय अब छेपेटारबाट पनि संचालन गरिएको हो । छेपेटार क्षेत्रका सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै छेपेटारमा पनि वडा कार्यालय स्थापना गरी सेवा विस्तार गरिएको वडा अध्यक्ष प्रदीप कुँवरले जानकारी दिए ।

छेपेटारको प्रयोगविहिन अवस्थामा रहेको कृषि भवनमा वडा कार्यालय स्थापना गरिएको कुँवरले बताए ।
वडा प्रतिनिधिहरुको सबैको सहमतिमा वडा कार्यालय विस्तार गरिएको हो ।

हरेक हप्ताको बार अनुसार वडा कार्यालय संचालन गर्ने निर्णय भएको पनि अध्यक्ष कुँवरले जानकारी दिए । उनका अनुसार हप्ताको आइतबार, मंगलबार र विहिबार छेपेटारबाट वडा कार्यालय संचालन हुने छ भने विरेन्चोकबाट सोमबार, बुधबार र शुक्रबार सेवा प्रवाह गरिनेछ ।

यसले दुवै क्षेत्रबाट वडा कार्यालय सेवा लिन आउने सेवाग्राहीलाई धेरै सहज हुने उनी बताउँछन् । ‘गोरखा नगरपालिकाको वडा नं. १० को क्षेत्र धेरै ठूलो छ । विशेष गरेर छेपेटारका मानिसहरु विरेन्चक वडा कार्यालयसम्म आउन धेरै असुविधा हुने गरेको थियो’, उनले भने, ‘छेपेटारबासी सामान्य सिफारिस लिन पनि वडा कार्यालयसम्म जान पनि एक दुई घण्टा लाग्नुका साथै आउजाउमा धेरै पैसा खर्च हुने भएकाले वडा कार्यालयको कार्यालय विस्तार गरिएको हो ।’

छेपेटारमा नगरपालिका मातहत रहेको भवनमा वडा कार्यालय विस्तार गरिएको उनले बताए । योसँगै छेपेटारका स्थानीयहरु वडा कार्यालयबाट प्रवाह हुने सेवा लिन विरेन्चोकसम्म पुग्न नपर्नुे उनले बताए ।

छेपेटारमा बुधबार एक कार्यक्रमका बीच वडा कार्यालय भवन उद्घाटन गरिएको हो । कार्यक्रममा गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकर, वडा नं ११, १२, ५ का र वडा नं १० का वडा अध्यक्ष कुँवरले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्