| सोमवार, कार्तिक २३, २०८३

छोरा र छोरीलाई शिक्षामा विभेद

समय परिवर्तनशील छ । परिवर्तनसंगै समाज सुधारपथमा छ । धेरै बिकृतिहरु सुसंस्कृत हुदै छन् । कतिपय संस्कृतिहरुचाहिँ बिकृति हुँदै पनि छन् ।
विगतमा भन्दा अहिले छुवाछुत परम्परा कम हुँदै गएको छ । बिगतमा भन्दा अहिले छोरा र छोरीमा विभेद कम भएको छ । बिगतमा भन्दा अहिले जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक दृष्टिकोणले विभेद कम हुदै गएको छ ।

तथापि विभेद अन्त्य भएको छैन । अहिले पनि छोरा र छोरीमा विभेदपूर्ण व्यवहार छ । छोरा जन्मिँदा जुन हर्ष उल्लास मनाउँछन्, छोरी जन्मदा त्यस्तो देखिदैन । दुई मात्र सन्तान हुनेको पनि छोरा र छोरी हुने अथवा छोरा छोरा हुनेको परिवार जति सन्तोषजनक देखिन्छ, छोरीछोरी हुनेको त्यसको तुलनामा (अववादबाहेक) कम खुशी देखिन्छन् ।

शिक्षा दिने क्रममा पनि प्राय अभिभावकले छोरा र छोरीमा विभेद गर्ने गर्छन् । छोरालाई उन्नत र छोरीलाई काम चलाउ खालको दिने गरेका छन् । जसको छोरी मात्र छन्, गनीहरुले सरकारी स्कूल पढाइरहेका हुन्छन् । जब छोरो जन्मिन्छ, तब सहरमा डेरा लिन्छन् र बोर्डिङ पढाउन लैजान्छन् ।

कतिपय एउटै घरबाट छोरा सुकिलोमुकिलो भएर टाइबेल्ट, सुटबुट पहिरेर बोर्डिङतिर गइरहेको हुन्छ । छोरी काम चलाउ पोशाकमा चप्पल पड्काउँदै टिठलाग्दो गरी सरकारी विद्यालयतर्फ गइरहेको देखिन्छ । यस्ता विभेदपूर्ण व्यवहार निकै दर्दनाक हुन्छन् । उस्तैगरी जन्माएको, हुर्काएको दुई सन्तानलाई पनि समान व्यवहार गर्न नसक्ने अभिभावकहरु हुन्छन् । आर्थिक, भौतिक दरिद्रताले नसकेको होइन, मानसिक दरिद्रताले गर्दा नसकेको हो ।

यसबारे अनभिज्ञ पनि सायदै होलान्, गल्ती महशुस पनि प्रायलाई छ, तैपनि सुधार गर्न भने नसकेको अबस्था छ । छोरालाई खर्च गरेर पढाइयो भने शानमान बढ्छ भन्ने ठानेर पनि छोरालाई खर्च गरेर बोर्डिङ पढाउँछन् तर छोरीलाई बिहे नगरुञ्जेल अल्मल्याउने हिसाबले मात्र पढाएको देखिन्छ । यो विभेदको अन्त्य हुनु अत्यन्त जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्