| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी गाउँपालिकाको कार्यालय तोमनडाँडामा सारियो

गण्डकी गाउँपालिकाले कार्यालय तोमनडाँडा स्थानान्तरण गरेको छ । केही दिनअघिको कार्यपालिका बैठकले निर्णय गरेर मंगलबारदेखि तोमनडाँडामा कार्यालय स्थान्तरण गरेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

राजमार्गबाट पनि नजिक पर्ने र यसअघिको कार्यालय भन्दा तोमनडाँडाको कार्यालय सबै वडाहरुबाट सुगम भएकाले स्थानान्तरण गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

हाललाई विद्यालयको नाममा रहेको तर उपयोग नभएको भवन र तरकारी संकलन केन्द्रका लागि निर्माण गरिएको भवनबाट सेवा दिने उनले बताए । ‘गाउँसभाले निर्णय गरेपछि स्थानीयबासीले निशुल्क रुपमा पर्याप्त जग्गा दान गर्ने तयारी भएको छ’, उनले भने, ‘गाउँसभाले निर्णय नगरुञ्जेलसम्मका लागि सेवाकेन्द्र भनेर सञ्चालन गरिनेछ । निर्णय भएपछि कार्यालय भनेर सञ्चालन गरिनेछ ।’ मंगलबार स्थानान्तरण गरिएको कार्यालय बुधबार उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्