| मङ्लबार, कार्तिक २४, २०८३

आज चेपाङ समुदायले भव्य रुपमा छोनाम मनाउँदै

सीमान्तकृत चेपाङ समुदायले आज मुख्य पर्व छोनाम विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । गोरखाको गण्डकी र सहिद लखन गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायले न्वागीको रुपमा छोनामलाई मनाउने गर्छन् ।

बुधबार राती १२ बजेपछि प्रत्येक खलकको झाँक्री(पाण्डे)ले ढ्याङ्ग्रे ठटाउँदै आफ्नो उत्पादन घैया धान, मकै, कर्कलो, चिचिण्डा, घिरौँला, फर्सीको मुण्टा आदि देउतालाई चढाउने गर्छन् । त्यस्तै कुखुरा, सुँगुर आदिको बली पारेर सिमेभुमे(प्रकृति देवता) लाई चढाउने नेपाल चेपाङ संघ गोरखाका अध्यक्ष भीमलाल चेपाङले जानकारी दिए ।

टोलटोलमा खलक मिलेर सामुहिक रुपमा र प्रत्येक घरघरमा पनि छोनाम मनाइने उनले बताए । ‘आफन्त, इष्टमित्रलाई बोलाउने, मिठो, चोखो खाने, रामरमिता गर्ने चलन छ’, उनले भने ।

खलकैपिच्छे पुरेतको रुपमा एउटा–एउटा झाँक्री हुने गर्छन् । झाँक्री(पाण्डे)ले चारपाँच घण्टासम्म ढ्याङ्ग्रो बजाएर प्रकृतिको पूजा गर्ने गर्छन् । त्यसपछि खानपिन र रामरमिता गर्दा रात छर्लङ्गै बित्ने गर्छ ।

छोनामको अवसरमा नेपाल चेपाङ संघले बुधबार चितवनको चेतना भिलेजमा सामुहिक रुपमा पनि छोनाम मनाउँदैछ । बुधबार दिनभर सामुहिक छोनाम मनाएर बिहिबार सोही स्थलमा साधारणसभा मनाउने कार्यक्रम रहेको भीमलाल चेपाङले बताए ।
चेपाङहरुको बसोबास रहेको गण्डकी गाउँपालिकाले मंगलबार चेपाङ समुदायलाई विदा दिएको छ । चेपाङहरुको बसोबास रहेको ठाउँमा सो समुदायलाई मात्र सार्वजनिक विदा दिइएको सोमबार प्रकाशित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्