
सर्वसाधारण बिरामीले जिल्लाभित्रै सेवा पाउनु सुखद
कार्यालयहरुको कार्यसम्पादन सँधै उत्तिकै भएको पाइएको छैन । कहिले उत्कृष्ठत्तम कार्यसम्पादन भइरहेका हुन्छन्, कहिले झुर ।
यसमा धेरै भूमिका कार्यालयको नेतृत्वमा भर पर्छ । कुनै नेतृत्व नयाँ काम गरेर देखाउँ भन्ने खालका हुन्छन् र मिहिनेत गरिरहन्छन् । उनीहरुको कार्यअवधिमा त्यहाँ उत्साहपूर्ण काम भएको हुन्छ । प्राय नेतृत्वले शान्तपूर्वक(तनावरहित अबस्थामा) कार्य अवधि समाप्त गरी विदा हुन्छन् । त्यतिबेला हर्ष न बिस्मातको अबस्था हुन्छ ।
विशेषगरी गोरखा अस्पतालको कार्य सम्पादन अहिले निकै उत्साहजनक छ । भदौ लागेपछि नै अस्पतालले धेरै नयाँ कामको सुरुवात गरेर सर्वसाधारणमा उत्साह थपेको छ । त्यसैले गतबर्षको यो समयभन्दा अहिले बिरामी सेवा लिन आउने क्रम दोब्बरले वृद्धि भएको छ ।
सेवा लिन आउने बिरामीको आवश्यकतालाई मनन गरी अस्पतालले अस्पताल समयभन्दा पछिसम्म पेइङ क्लिनिकसमेत सञ्चालन गरेको छ । अहिले गोरखा अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सकले स्वास्थ्य सेवा दिँदैछन् ।
हालसालै मात्र यहाँ हाडजोर्र्नी तथा नशारोगका बिरामीको उपचार सेवा सुरु गरिएको छ । मृगौलाको रोगबाट ग्रसित बिरामीहरुलाई निशुल्क डाइलासिस सेवा पनि गोरखा अस्पतालले सुरु गरेको छ । अस्पतालले थाइराइड हर्मोनबाट पैदा हुने समस्याको बारेमा पनि परीक्षण तथा उपचार सेवा दिन थालेको छ ।
यसअघि तीनजना प्राविधिकले मात्र सञ्चालन गरेको ल्याव सेवा अब यहाँ मेडिकल ल्याब टेक्निसियनसहित आठजना प्राविधिकले सेवा दिन थालेका छन् । बिरामी लठ्याउन तालिम प्राप्त जनशक्तिले मात्र सेवा दिने गोरखा अस्पतालमा अहिले दक्ष एनेस्थियोलोजिस्टले सेवा दिन थालेका छन् ।
आकस्मिक रगत दिनुपर्दा समस्या हुने भएकाले सामान्य शल्यक्रियासमेत नहुने यहाँ अहिले रक्तसञ्चार केन्द्र(व्लडबैँक) सेवा सुरु भएको छ । जसका कारण साना तथा मझौला खालका शल्यक्रिया पनि सुरु गरिएको छ । एकपटकमा एकजनाको मात्र शल्यक्रिया हुने गरेको यहाँ अहिले एकसाथ दुई जनाको शल्यक्रिया पनि हुन थालेको छ । त्यसैले यहाँ बिरामी आउने क्रम बढेको छ भने रिफर गर्ने क्रम घटेको छ । यो सुखद अबस्था जुनसुकै नेतृत्व आए पनि दीगो रहिरहोस् ।




