
कस्ता नेताको नाम सिफारिस ?
अहिले धमाधम प्रतिनिधिसभा तथा प्रदेश सभाको सदस्यका लागि उम्मेद्वार बन्न चाहनेहरुको नाम सिफारिस गर्ने सिजन छ । कांग्रेस, माओवादी, एमाले, नेसपा, राप्रपा लगायतका पार्टीले नाम सिफारिस गर्ने गृहकार्य गरिरहेका छन् ।
आकांक्षीहरुले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि आफ्नो नाम प्रस्ताब गरेका छन् । आकांक्षीहरुबाट प्रस्तावित नाम प्रदेश क्षेत्रस्तरको कमिटी, क्षेत्रीय समिति, जिल्ला समिति, प्रदेश समिति हुँदै सो सूची पार्टी केन्द्रमा पुग्छ । ग्रामीणस्तरका कार्यकर्ता तथा सर्वसाधारण मतदाताको माग र आकांक्षीहरुको लोकप्रियता, क्षमता, उपयुक्तता, योगदान आदि बारे टिप्पणीसहितको नाम माथिल्लो निकायमा सिफारिस गरेपछि केन्द्र तहले सिफारिस भई आएकाहरुमाथि पार्टीको कसी लगाउँछ । कसी लगाउँदा नंबरी देखिएकालाई चुनावमा जान टिकट दिन्छ । विधि र प्रक्रिया सबै पार्टीको यही अथवा यस्तै हो ।
तर अहिले दृश्य अल्लि फरक छ । नेताहरुमा गणेशप्रवृत्ति हावी छ । जसले नेतालाई धेरै परिक्रमा ग¥यो, उसले टिकट पाउने चलन छ । जसले दान दक्षिणा धेरै अर्पण गर्न सक्यो, उसले टिकट पाउने परम्परा छ । अहिले प्राय पार्टीहरुले सम्भावित उम्मेद्वारहरुको नाम माथिल्लो निकायमा पठाउन थालिसकेका छन् । नामहरु हेर्दा कुनै जोश, जाँगर लाग्ने, आशा गर्ने खालका छैनन् । उही २० बर्षअघिदेखि सांसद बनिरहेकाकै नाम सिफारिस भएका छन् । उही २० बर्षदेखि आम निर्वाचनमा उठेर मतदाताले नपत्याएकाहरुको नाम सिफारिस छ । जनमतले जितेर गइसकेपछि आफ्नो बल बुताले भ्याएजतिको काम गरेका नेताको नाम सिफारिस भए त ठिकै छ ।
बिगतमा प्राविधिक कारणवशः हारेका भए पनि यत्तिको नेताले अवसर पायो भने आफू, आफ्ना आफन्त र आफ्नो पार्टीको मात्र हित हुने काम गर्दैन, सर्वसाधारण र देशको हितलाई केन्द्रमा राखी काम गर्छ भन्ने अनुहारलाई टिकट दिए त ठिकै छ । कर्मचारी सरुवा गर्दा यसलाई यो ठाउँमा खटाइयो भने लक्ष्य पूरा गर्छ भन्ने हिसाबकिताब गरेर पठाए झैँ, यसले टिकट दिइयो भने यति लक्ष्य पूरा गर्न सक्छ भन्ने दुराशय राखेर टिकट दिने परम्परा कायमै छ । यसलाई अन्त्य गर्नुपर्छ ।




