| मङ्लबार, कार्तिक २४, २०८३

उत्तरी गोरखामा तिब्बती भाषामा पढाइ

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा तिब्बती भाषा, संस्कृति पढाइ हुने गरेको छ । वडा नं. १, २, ४ र ५ का विभिन्न विद्यालयहरुमा तिब्बती भाषा, लिपि, संस्कार, संस्कृतिको पढाइ हुने गरेको हो ।

वडा नं. १ को गौरीशंकर आधारभूत विद्यालयका कक्षा १ देखि छसम्मका विद्यार्थीले तिब्बती भाषामा पठनपाठन गर्ने गरेका प्रधानाध्यापक योजबहादुर गुरुङले जानकारी दिए । उनीहरुलाई भाषा पढाउने दुईजना शिक्षकका लागि लामा गुरुहरुले तलब भत्ताको व्यवस्था गरेका छन् । खेम्पो लामा गुरुहरुले पाठ्यक्रम र पाठ्यपुस्तकको पनि व्यवस्था गरेको उनले बताए ।

त्यस्तै वडा नं. २ को ल्हो माध्यमिक विद्यालयमा पनि तिब्बती भाषा, संस्कृतिको पढाइ हुने गरेको छ । ‘यहाँ विद्यालय खुलेदेखि नै तिब्बती भाषा, संस्कार, संस्कृतिको पढाइ हुने गरेको छ’, प्रधानाध्यापक सञ्जय ढकालले भने, ‘विद्यालय निर्माण गर्न सहयोग गर्ने सोनाम रिम्पोछेले दुईजना शिक्षक राख्न सहयोग गर्नुभएको छ ।’ विद्यार्थीहरुमा स्थानीय पाठ्यक्रमको धेरै महत्व रहेको उनले बताए । ‘स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक काठमाडौँमा पाइने रहेछ’, प्रअ ढकालले भने, ‘त्यो पाठ्यपुस्तकमा तिब्बती भाषा, संस्कार, संस्कृतिको बारेमा लेखिएको हुन्छ । स्थानीय भाषा, संस्कार, संस्कृतिको संरक्षणका लागि यसले धेरै टेवा पु¥याउँछ ।’

वडा नं. ४ को नुब्री आधारभूत विद्यालयका कक्षा १ देखि सातसम्म तिब्बती भाषाको पाठ्यपुस्तक पढाइ हुने प्रधानाध्यापक गणेश ढकालले बताए । यसअघि भोटभाषामा पढाउने शिक्षकलाई माउण्टेन चाइल्ड नामक संस्थाले तलब भत्ताको व्यवस्था गरेको थियो । सो संस्थाको नवीकरण नभएपछि विद्यालयको निजीस्रोतबाट तलबभत्ता दिनेगरी शिक्षक राखिएको प्रअ ढकालले बताए ।

कक्षा छसम्म पढाइ हुने सेराङ््गी आधारभूत विद्यालयका ८८ जना विद्यार्थीले तिब्बती भाषामा पठनपाठन गर्ने गरेको प्रअ इन्दबहादुर गुरुङले बताए । त्यहाँ स्थानीय भोट भाषामा पढाउन सोलुखुम्बुबाट शिक्षक आएका छन् । शिक्षकलाई सिड नेपाल नामक संस्थाले तलबभत्ताको व्यवस्था गरेको प्रअ गुरुङले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका भोटेलामा समुदायको बसोबास भएको गाउँपालिका हो । यहाँको वडा नं. १, २, ४, ५, ६ र ७ मा सतप्रतिशत भोटेलामा समुदायको बसोबास छ । वुद्ध धर्म अवलम्वन गर्ने उनीहरु तिब्बती भाषा, संस्कार र संस्कृतिका अनुयायी हुन् । यहाँका विद्यालयमा तिब्बती भाषा पठनपाठन गर्ने कार्यक्रमलाई प्रवद्र्धन गर्न गाउँपालिका कार्यालयले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए ।

चारवटा वडामा यसअघिदेखि नै पठनपाठन भइरहेको र अब वडा नं. ६ र ७ मा पनि पठनपाठन सुरु गर्ने गाउँपालिकाका अध्यक्ष निमा लामा बताउँछन् । ‘यस क्षेत्रका भोटेलामा समुदायले बोल्ने स्थानीय भाषा र प्रयोग गर्ने सम्बोता लिपि प्रवद्र्धन गर्न नुब्री क्षेत्रका लामागुरुहरुले पनि मद्दत गरिरहनु भएको छ । हाम्रो गाउँपालिकाले पनि यसबर्षको नीति तथा कार्यक्रममा समेटेका छौँ’, लामाले भने, ‘अब चुम क्षेत्रका विद्यालयहरुमा पनि यही भाषामा पढाउन सुरु गर्छौँ ।’ गाउँपालिकाको लेटरप्याड पनि सम्बोता लिपिमा वनाइएको छ । आफ्नो तिब्बती भाषामा पठनपाठन गर्नेबारे गाउँपालिकाले निर्णय गरिसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्