
आफ्नो काम नजान्ने, अरुको काम मात्र जान्ने
डाक्टर भगवान कोइरालाबाट सुनेको, ‘हामी नेपाली यस्तो पुरुषार्थी छौँ, जो आफ्नोबाहेक अरु सबैको बारेमा जान्दछौँ ।’
यो उक्ति सायद जो कोहीमा मिल्छ । हामीलाई आफ्नो बारेमा उतिसारो थाहा हुदैन । आफूले गर्ने कामको बारेमा पनि त्यति चिन्ता र चिन्तन हुदैन, जति अरुको बारेमा र अरुको कामको बारेमा चासो हुन्छ । नपत्याए चिया पसलमा हुने काम सुनौँ न । नपत्याए दुई, तीन वा चार जना कार्यालय प्रमुखहरु बसेको ठाउँको कुराकानी सुनौँ न । नपत्याए नेतालाई दुईचारजना कार्यकर्ताले घेरेको ठाउँको गफ सुनौँ न ।
पहिले–पहिले ‘पधेर्नी गफ’ भनेर जेलाई संकेत गरिन्थ्यो, त्यो भन्दा यी गफ कम हुन्नन् ।
अरुको बारेमा जत्तिकै आफ्नो बारेमा थाहा भएको भए, अरुको कामको जत्तिकै चासो आफ्नो कामको बारेमा पनि लिए हामी यो अबस्थामा पक्कै गुज्रिने थिएनौँ ।
हाम्रा कतिपय सरकारी कार्यालयलाई पनि आफ्ना नियमित काम भन्दा अरु कुराहरुको धेरै चासो हुने रहेछ, त्यसैले बर्षभरिमा प्रक्षेपण गरिएका कामको ५० प्रतिशत पनि प्रगति गर्न सकेनन् । विशेषगरी एघारकिलो, छेपेटार, भालुस्वाँरा बारपाक सडकको कार्यसम्पादन यस्तै देखियो ।
जुन कार्यालयको नामै बारपाकसम्म सडक बनाउने भनेर राखियो, जुन काम गर्न भनेर प्रोजेक्ट अफिस स्थापना गरियो, त्यो कार्यालयले डेढ दसक बित्दा पनि लक्ष्य पूरा गर्न सकेन । के काम गरेर यत्तिका समय बितायो ? के उसले तालुक अड्डामा जुन काम गर्ने प्रतिवद्धता जनाएर आयो, त्यही काम गरेको रहेछ ?
आफ्नो कामप्रति चासो र चिन्ता हुने कार्यालय प्रमुखहरुले नेता, मन्त्री तथा सम्बन्धित निकायलाई लबिङ गरी जतिसक्दो धेरै योजना माग गरेर ल्याउँछन् । बर्ष नबित्दै त्यो सम्पन्न गरेर अझै बजेट थप गर्न लबिङ गर्छन् । तर आफ्नो भन्दा अरुको कामतिर ध्यान दिनेहरुले बिना परिश्रम आइमिलेको बजेट तथा कार्यक्रम पनि मुस्किलले ५० प्रतिशत मात्र फत्ते गर्छन् ।




