| सोमवार, कार्तिक २३, २०८३

लगातारको वर्षाले बारपाक थलीडाँडाको दुई घरमा क्षति


गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ थलीडाँडामा पहिरोले दुई घरमा क्षति पुगेको छ । बुधवारदेखि सुरु भएको अबिरल वर्षापछिको पहिरोले स्थानीय विनोद गुरुङ र लालबहादुर गुरुङको घरमा क्षति पुगेको हो ।


‘पहिरोले हाम्रो घर र हाम्रोभन्दा तल्लो लालबहादुरको घरमा क्षति पुगेको छ’, स्थानीय विनोद गुरुङले भने, ‘अहिले हामी भत्केको घर र आँगन मर्मत गर्दैछौँ । दिनदिनै पानी परिरहेकाले अझै खतरा छ ।’ बर्षैपिच्छे पहिरो जाने गरेको र जोखिमयुक्त बस्ती स्थानान्तरणका गर्न सरकारले आवश्यक सहयोग नगर्दा समस्या परेको उनले बताए ।


बस्ती नजिकको साँखर खोलामा पानीको बहाव बढेपछि बस्ती क्षेत्र कटान भएको र जोखिममा परेको उनले बताए ।


निरन्तरको बर्षातका कारण घरमा बस्न डर लागेर दुई रातदेखि छिमेकीको घरमा बसेको रमेश गुरुङले बताए । निरन्तर बर्षात र बारपाकको ठूलो गाउँबाट आउने पानीको भलले बस्ती नै जोखिममा रहेको उनले बताए ।


भूकम्पअघि नौ घर रहेको थलीडाँडामा बसाइँसराइका कारण अहिले तीन घर मात्र बाँकी रहेकोमा ती घरहरु पनि भत्किएर समस्या भएको उनले बताए । माथिबाट आएको भलले सबै माटो बगाएर लगेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्