
गोरखा बजारमा थुप्रिन थाल्यो फोहोरको डंगुर
गोरखा बजारमा केहीदिन यता फोहोर व्यवस्थापन भएको छैन । गोरखा नगरपालिका वडा नं ८ स्थित डम्पिङ साइट नजिकैको बाटो विग्रिएकाले फोहोर उठन नसकेको क्लिन गोरखा प्रालीले जनाएको छ ।
बर्षाका कारण बाटो पहिरिएको र सडकमा नालीको निकास बगेकाले फोहोर बोक्ने गाडीहरु पटक पटक फस्ने गरेको प्रालीका व्यवस्थापक विष्णु थापा मगरले बताए ।
‘डपिङ साइट नजिकै बाटो बिग्रिएकाले फोहोर नउठेको हो । बर्षाका कारण बाटो पहिरिएको छ’, उनले भने, ‘साथै रातो माटोमा गाडी चिप्लने हुँदा फोहोर बोक्ने गाडी जान नसक्ने अवस्था छ । बाटो बनाउनका लागि हामीसँग जेसिबी छैन । यसअघि प्रयोग गरिदै आएको नगरपालिकाको जेसिबी पनि बिग्रिएको छ ।’
बाटो हिलाम्य र चिप्लने भएकाले गाडी जान नसकेको उनको भनाइ छ । सो क्षेत्रमा नालीको राम्रो व्यवस्थापना नहुनाले पनि सडकमा नालीको निकास बग्ने गरेको र रातो माटोमा गाडी चिप्लने हुँदा फोहोर बोक्ने गाडी जान नसकेको उनले बताए । बाटो राम्रो नहुँदा टिपर र ट्याक्टरका टायर पटक पटक पडकिने गरेको र प्रत्येक पटक टिपरलाई टयाक्रले तान्नुपर्दा धेरै समस्या भएको उनको भनाइ छ ।
डम्पिङ साइटसम्म जाने बाटो स्थायी रुपमा हुने गरी नबनाएसम्म यस्तो समस्या पटक पटक आइपर्ने उनले बताए । डम्पिङ साइट नजिकैको टर्निङमा बाटो बिग्रिएकाले थप समस्यामा परेको बताउदे आइतबारसम्म बाटो बनाइसक्ने संस्थाका व्यवस्थापक मगरले जानकारी दिए । ‘हामीले फोहोर उठाउने गाडीहरु सबै तयारी अबस्थामा छ । यदि बाटो बन्यो भने आगामी आइतबारबाट फोहोर उठाउछौँ ।’ उनले भने ।
डपिङ साइट नजिकैको बाटो निर्माण गर्नका लागि एउटा जेसिबी तयारी अवस्थामा राख्न नगरपालिकासँग माग गरिएको उनले जानकारी दिए । तर, फोहोर नउठेको विषयमा गोरखा नगरपालिकालाई भने कुनै जानकारी नभएको नगरपालिकाका वातावरण अधिकृत धुव घिमिरेले बताए ।
फोहोरको शुल्क तिर्न मान्दैन नगरबासी
घर आँगनको फोहर उठाएबापतको शुल्क तिर्न नगरबासीले आनाकानी गर्दै आएका छन् । ‘हामीले नगर स्वच्छ, सफा हराभरा बनाउने उद्देश्यका साथ फोहोर दिनदिनै उठाई राखेको छौँ । तर नगरबासीले फोहोर उठाए बापतको पैसा तिरेका छैनन्’, व्यवस्थापक थापा मगर भन्छन्, ‘संस्थामा आवद्ध हुन पनि मान्दैनन् । आबद्ध भएका सदस्यहरुबाट पनि फोहोर संकलन गरेको पैसा उठेको छैन ।’
शुल्क नतिरेका कारण संस्था सञ्चालनमा कठिनाइ हुने गरेको संस्थाको भनाइ छ ।
यस अघि १५ दिनमा एक पटक फोहर उठाउँदा फोहोर धेरै हुने गरेको र अहिले दैनिक रुपमा फोहोर उठाउने गरेकाले धेरै फोहोर नदेखेको र नगरबासीले फोहोर छैन भन्दै पैसा तिर्न आनाकानी गर्ने गरेको थापा मगरले जानकारी दिए ।
नगरपालिकामा बार अनुसार दैनिक ५÷६ वटा गाडीले फोहोर उठाउने गरेको उनको भनाइ छ । अव नियम बनाउने तयारीमा रहेको र सोपश्चात फोहोर संकलन गरे बापतका महसुल जसरी भए पनि अशुल गरिने उनले बताए । तर अहिले फोहोरको शुल्क नउठेर नभई बाटो विग्रिएकाले नगर क्षेत्रको फोहोर उठन नसकेको उनले जानकारी दिए ।




