
थाइराइड परीक्षण अब गोरखा अस्पतालमै
थाइराइड हर्मोन परीक्षण गर्न चितवन, काठमाडौँ जान बाध्य भएका गोरखाबासीले अब यो बाध्यताबाट छुटकारा पाउने भएका छन् । थाइराइड हर्मोन परीक्षण गर्ने भरपर्दो उपकरण गोरखा अस्पतालमा नै सञ्चालन भएपछि यहाँका बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता टरेको हो ।
सेवा सुविधामा स्तरोन्नति गर्दै गएको गोरखा अस्पतालले बिगत तीनदिनअघिदेखि थाइराइड परीक्षण गर्ने उपकरण सञ्चालनमा ल्याएको हो । ‘गोरखा अस्पतालमा थाइराइड हर्मोन परीक्षण गर्ने सेवा सुरु भएको छ’, अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘उपकरण त अस्पतालले असारमा नै खरिद गरेर ल्याएको थियो, तर जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको थिएन । अहिले जनशक्ति उपलब्ध भएपछि सेवा पनि सुरु गरिएको हो ।’
अस्पतालमा अहिले मेडिकल ल्याब टेक्नोलोजिस्ट एकजना र ल्याब टेक्निसियन तीन जना थपिएका उनले बताए । यसअघि तीनजना प्राविधिकले काम चलाएका यहाँको ल्याबमा अहिले आठ जना प्राविधिकहरु खटिन्छन् ।
‘यो सेवा अस्पतालका लागि बरदान हो, किनभने अहिलेसम्म सबैभन्दा धेरै बिरामी थाइराइड परीक्षण गर्नकै लागि बाहिर रिफर गर्ने गरिएको थियो’, सूचना अधिकारी ढकाल भन्छन्, ‘धेरै खाले समस्यामा थाइराइड परीक्षण गर्नुपर्ने हुन्छ । अब त्यस्ता सबै बिरामीले यहीँ सेवा पाउँछन् ।’
अहिले तत्कालका लागि अस्पतालले हप्तामा मंगलबार र शुक्रबार गरी दुई दिन मात्र थाइराइड परीक्षण गर्ने गरेको छ । अघिल्लो दिनमा परीक्षणका लागि लिइएको थाइराइडको रिपोर्ट भोलिपल्ट मात्र उपलब्ध गराइने गरिएको उनले बताए । थाइराइड परीक्षणको शुल्क नौ सय रुपैयाँ निर्धारण गरिएको छ । यो शुल्क अन्य अस्पतालभन्दा सुपथ रहेको अस्पतालले जनाएको छ ।




