| सोमवार, कार्तिक २३, २०८३

गोरखाका तीन पालिकाका किसानले ५ करोडसम्म सहुलियत ऋण पाउने

गोरखाका तीन पालिकाका व्यवसायिक किसानहरुले सहुलियतपूर्ण व्याजमा ५ लाख रुपैयाँँदेखि ५ करोड रुपैयाँसम्म व्यवसायिक ऋण पाउने भएका छन । गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले राष्टिूय वाणिज्य बैंकसँग सहुलियतपूर्ण कर्जाका लागि बुधबार सम्झौता गरेका हुन् ।

कृषि पेशा मार्फत किसानहरुलाई उद्यमशिल, स्वरोजगार र आत्मानिर्र्भंर बनाउनका लागि सो सम्झौता गरिएको पालिकाले जनाएको छ । सम्झौता अनुसार पालिकाले सिफारिस गरेका कृषि सहकारी संस्था, कृषि उद्यमी, फर्म, कम्पनीहरुलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । वैँकले नेपाल सरकारको सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यबिधि अनुसार महिला कृषि उद्यमीहरुलाई ३.५ प्रतिशत र पुरुष कृषि उद्यमीहरुलाई ४ प्रतिशत व्याजमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सहमति भएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले बताए ।

सहुलियत ऋणका लागि वैंकसंग सम्झौता भएका पालिकाहरुले व्यक्ति वा कम्तीमा ५÷५ जनाको समुह, सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी तथा सहकारीलाई मात्र कर्जाका लागि सिफारिस गर्नेछ । त्यस्तै ऋण प्राप्त गरेका व्यवसायीहरुका लागि कृषि उत्पादन वृद्धिका लागि आवश्यक पर्ने पूर्वाधार, सिँचाई, मल, बिउ ढुवानी, बजार व्यवस्थापन, भण्डारण गृह निर्माण र प्राबिधिक ज्ञान पालिकाले उपलब्ध गराउने सहमति समेत भएको उनले जानकारी दिए ।

समयमा किस्ता नबुझाउने ऋणीहरुलाई पालिकाहरुले प्रदान गर्ने सेवासुबिधामा रोक लगाई ऋण असुलीमा बैंकलाई सहयोग गर्ने पनि सम्झौता पत्रमा उल्लेख गरिएको छ । सहुलियत ऋण लिनका लागि उद्यमशीलता सम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था गरिएको छ । सहुलियत ऋण प्राप्त गरेका ऋणीहरुले समयमा किस्ता रकम तथा ब्याज नबुझाएमा सम्बन्धित पालिकाले उक्त रकम तिर्नका लागि आबश्यक सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको भीमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
यस्तै सहुलियतमा कर्जा उपलब्ध गराएका ऋणीहरुको व्यवसायको अनुगमनका लागि पालिका प्रमुखको संयोजकत्वमा ६ सदस्यीय अनुमगन समिति समेत गठन गर्ने समझदारी भएको उनले बताए ।

कर्जा लिएका समुहको व्यवसाय प्राकृतिक प्रकोप, बिपत लगायतका अन्य घटनाहरुका कारण क्षति भई ऋणीहरुले ऋण तिर्न नसक्ने अबस्थामा ऋण तिर्नका लागी सहयोग गर्न सम्बन्धित पालिकाले जोखिम न्युनिकरण कोष स्थापना गर्ने पनि सहमति पत्रमा उल्लेख छ । सहुलियत कर्जा मार्फत किसानहरुको क्षमता विकास गरी सक्षम र सवल बनाउने तथा लक्षित कार्यक्रम कार्यान्वयनले गरिबी निवारणमा महत्वपूर्ण योगदान पुग्ने आफुले बिश्वास लिएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टको भनाइ छ ।

‘बैदेशिक रोजगारीबाट सिप अनुभव र धेरथोर पुँजी समेत संकलन गरी स्वदेश फर्किएका युवालाई पुन बिदेशिनु पर्ने बाध्यताबाट रोक्नु पनि कार्यक्रमको उद्देश्य हो’, उनले भने, ‘यसबाट युवाहरुलाई उद्यमशिलता संग जोडेर बिदेशबाट आर्थिक सिप अनुभव र पुँजी स्वदेशमा नै सदुपयोग गर्दै स्वरोजगार बनाउन सकिन्छ ।’ उनले यो सम्झौताले बास्तविक किसानलाई व्यवसायिक बन्न र कृषि पेशालाई व्यवसायिक र स्वरोजगार मूलक बनाउनका लागि समेत मद्दत पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्