
कस्ले चोर्छ गोरखामा सडक छेउको गमला ?
गोरखा सदरमुकामको बसर्पाक देखि पदेली सम्म ढुङ्गा बिछ्याइएको सडकको संग्रहालय तर्फको पुटपाथमा पोल÷पोलमा गमला राखिएको छ । गोरखा आएका पर्यटक, भक्तजनहरु बसपार्क ओर्लिएर हिड्दैजाँदा उनीहरुलाई आकर्षण गराउन र नगरको शौन्दर्य बढाउन गमला राखिएको हो ।

गमला राख्न आर्थिक वर्ष २०७७÷७८ मा गोरखा नगरपालिका १० लाख बजेट खर्च ग¥यो । गमला राखिएको करिब डेढ वर्ष पुग्यो । शौन्दर्य बढाउन राखिएको गमल चोरी हुन थालिसकेको छ । बसपार्कदेखि बिपी चोक हुँदै पँदेली सम्म २० वटा पोल छ । एउटा पोलामा तीनवटाको दरले फुल सहितको गमला राखिएको थियो । तर अहिले १५ वटा गमला छैन ।

कसले चोर्छ त्यहाँको गमला भन्नेमा नगरपालिका, टोलबिकास संस्था, सुरक्षा निकाय सबै बेखबर छन् । गमलाको रेखदेख गर्ने जिम्मा टोल बिकास संस्थालाई दिइएको छैन । त्यहाँको फुल गोडमेल गर्ने, गमला रेखदेख गर्न नगरपालिकाले कुनै योजना बनाएको छैन । गोरखा बजारमा सिसि क्यामेरा छ, गमला कसले लगेको भनेर खोजीनीति गर्न चासो दिइएको छैन । सौन्दर्यकालागि राखिएको गमला चोरी हुने, गमला राख्ने स्ट्याण्ड भाँचिने भएपनि कुरुप देखिन थालेका छ । एकनासे पोल, हरेकमा तीनतीनवटा गमलामा फुल फुलेका बेला मनै लोभ्याउने दृष्य देखिन्थ्यो । चोरी गर्नेको खोजी नहुँदा गमला हराउने क्रम बढेको छ ।

हराएका अधिकांश गमला मदिरा शेवन गर्नेहरुले फुटाएको र केही चोरी भएको हुन सक्ने गोरखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशी बताउँछन् । सो क्षेत्र सार्वजनिक ठाउँ भएको र गमला संरक्षणमा कुनै पनि टोल विकास समितिले चासो नदेखाएका कारण गमला लगायत रेलिङ र सडक बत्तीको संरक्षण हुन नसकेको उनले बताए । बसपार्क क्षेत्रमा अपराधी सम्बन्धी गतिविधि नियन्त्रण गर्नका लागि राखिएको सिसि क्यामरा गमला चोरी गरेको र फुटालेको देखिएमा दोषीलाई कारवाही हुने उनले बताए । गमला संरक्षणका जिम्मवारी टोल विकास संस्थाहरुले नलिएको बताउदै सो क्षेत्र वडा भित्र पर्ने भएकाले अव वडाले संरक्षणको जिम्मा लिने उनले बताए ।
गमला राखिएको पोलको विद्युत लाइन काटियो
बसपार्क देखि पदेलीथोक सम्म जडान गरिएको सडक बत्तीको रेखदेख र संरक्षण गर्ने जिम्मा पदेली टोल विकास संस्थाले लिएको थियो । ‘नगरपालिकाले विद्युतको महसुल तिरिने आश्वासन दिएपछि त्यहाँको सडक बत्तीको जिम्मेवारी हामीले लिएका थियौँ, तर नगरपालिका धोका दियो,’ पदेली टोल विकास संस्थाका अध्यक्ष नविन कुमार श्रेष्ठले, ‘विद्युत महशुल एकै पटक २२ हजार भन्दा बढी आउने रहेछ, टोल विकास संस्थासँग आर्थिक स्रोत नहुँदा तिर्न सकेनौँ ।
पहिलो पटक टोलबासीसँग व्यत्तिगत उठाएर महसुल तिरेका थियौँ तर यसरी व्यक्तिगत रुपमा सधैँ उठाएर महसुल तिर्न नसकिँदो रहेछ’ उनले भने । पहिलो पटक जसोतसो गरेर महसुल तिरेको तर दोस्रो पटकको महसुल तिर्न बाँकी रहेको उनले बताए । बाँकी रहेको महसुल तिरिदिन वडा कार्यालय, नगरपालिका निवेदन पेश गरेको उनले जानकारी दिए ।

वडा अध्यक्ष राजेन्द्रकुमार जोशीले विद्युत महसुलको लागि वडासँग बजेट नहुने भएकाले नगरपालिकालाई अनुरोध गरेर निवेदन पठाइसकेको बताए । ‘त्यहाँ केही दिन देखि सडक बत्तीको लाइन काटिएको छ । वडासँग पनि स्रोत छैन’ उनले भने, ‘सबै नगरपालिकासँग समन्वय गरेर अगाडि बढ्ने हो । अस्ती पनि बत्तीको विल २३ हजार आएको छ भन्नेको सुनेका थिएँ । त्यसमा पनि समयमै महशुल भुक्तानी नगर्दा पाँच हजार जरिवाना सहित २७ हजार पुगेछ ।’
नगरपालिका भित्रका सार्वजनिक क्षेत्रमा बनेका संरचनाको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताउँदै गमलाको संरक्षण र सडक बत्तीका लागि नगरपालिकाको वैठकमा छलफल गर्ने वडा अध्यक्ष जोशीले जानकारी दिए । अहिले भने त्यहाँ बत्ती बल्दैन । केहीदिन अघि गोरखा जेसिजको कार्यक्रम भएको दिन यहाँ आएका पाहुनालाई देखाउन दुईदिन भने बत्ती बालिएको थियो । त्यसयता फेरी बत्ती बलेको छैन ।




