
भरोसा गर्न लायक उम्मेदवार छानौँ
प्रदेश र संघिय निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु उम्मेदवार छनौटको प्रक्रियामा छन् । ठुला दलभित्र टिकट माग्नेको होडबाजी चलेको छ । गोरखामा अन्य दलमा भन्दा नेपाली कांग्रेस र माओवादी केन्द्र भित्र टिकटको कसरतमा रस्साकस्सी सुरु भईसकेको छ । चुनावी गठबन्धनका कारण टिकट पाएको खण्डमा जित्न सजिलो हुने आशले उम्मेदवारको चाहना राख्नेहरु शिर्ष नेताको घरदैलो चाहार्न सुरु गरिसकेका छन् ।
गठबन्धनदभित्र सिट बाँडफाँड यकिन नभएपनि जिल्लाका शिर्ष नेताहरु आफ्नो प्रदेश र क्षेत्र लिनुपर्ने अडानमा छन् । त्यसो त हरेक निर्वाचनमा उम्मेदवार बन्न चाहना गर्नेहरु धेरै नै हुन्छन् तर अहिले गठबन्धन हुने निर्णय भएको र टिकट पाउँदा जित्न सहज हुने आशले धेरै ‘लबिङ’ मा नेताहरु लागेका छन् । कस्तो उम्मेदवार छनौट गर्ने भन्ने पहिलो काम निर्वाचनमा सहभागी हुने दलको हो । राजनीतिक दलले समाजले खोजेको, नागरिकले चाहेको जस्तो उम्मेदवार चयन गर्न सक्नुपर्छ । पार्टी भित्रबाट धेरै नागरिकले रुचाउने उम्मेदवार चयन गर्न नसकेको खण्डमा नतिजा फरक आउन सक्छ ।
उम्मेदवार चयन गर्दा जनतासँग नजिक, सहकार्य गर्न सक्ने, क्षमतावान् योग्य ब्यक्ति चयन गर्नुपर्छ । राजनीतिक दलमा आवद्ध नभएका स्वतन्त्र चुनाव लडेर बिजयी भएको धेरै उम्मेदवार स्थानीय तहमा देखिए । यो देखेका दलहरुले योग्य उम्मेदवार चयन गर्न सक्नेनन भने प्रदेश र संघिय क्षेत्रमा पनि त्यसको प्रभाव नपर्ला भन्न सकिन्न । उम्मेदवार चयन गर्न नसक्नु, बिजयी भएपछि जनताको समस्यामा चासो नदिनु, राम्रा भन्दा नराम्रा काममा जोडिनु, जनताप्रति उत्तरदायि हुन नसकेका कारण राजनीतिक दलहरुप्रति नयाँ पुस्तामा बितृष्ण बढेको देखिन्छ ।
नागरिकले पनि प्रदेश र संघमा आफ्ना जनप्रतिनिधि चयन गर्दा भोरोसा गर्न योग्य ब्यक्तिलाई चयन गर्नुपर्छ । एकदिनको मतले पाँच वर्ष सम्म जनप्रतिनिधिको कामबाट मतदाता पछुताउनुपर्ने अवस्था आउनु हुँदैन । राजनीतिक अस्था, आफुसँगको निकटतालाई होईन क्षमता र नैतिकतालाई हेरेर उम्मेदवार चयन गरियो भने समाज रुपान्तरणमा नागरिक अभिमतको कदर भएको अनुभव छिट्टै गर्न पाईन्छ ।




