
मन्त्रीको खेतबारीमा योजनाको चाँङ, संचालन नै नभै योजनाहरु अलपत्र
गोरखाको सिरानचोक गाउँपालिका ५ जरेवर फाँटमा गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले लिफ्ट सिंचाई योजनाका लागि २०७५ सालमा आफू मन्त्री भएका बेला बजेट बिनियोजन गरिदिए । निर्माण ब्यवशायी र उपभोक्ता समितिबाट गरी करिब ६० लाखको काम सम्पन्न भयो तर निर्माण कम्पनीले योजना बुझाएको भोलिपल्टदेखि त्यहाँ पानी चलेको छैन ।
जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालयबाट निर्माण भएको यो योजनाले मन्त्रीको खेत सहित जरेवर क्षेत्रको २० हेक्टर जनिमा सिंचाई पु¥याउने लक्ष्य राखिएको थियो । तर एकदिनपनि किसानको खेतमा पानी पुगेन ।
उक्त योजना अलपत्र हुँदाहुँदै मन्त्री बस्नेतले आर्थिक बर्ष २०७७÷०७८ मा सोही खेतमा भूमिगत डिप ट्यूवेल सिंचाई प्रणाली नाम दिएर योजना छुट्याए ।
एकै ठाउँमा फरक(फरक योजनामा बजेट छुट्याउनुको कारण मन्त्री बस्नेतको आफ्नो र पारिवारिक खेत त्यहाँ धेरै छ । यो योजना पूर्व मन्त्री बस्नेतकै खेतमा निर्माण भएको छ । यसअघि निर्माण भएको योजना र यो योजनको सिंचित क्षेत्र एउटै छ । यो ट्यूवेलबाट अहिले पानी आएको छैन । घाँसले छपक्कै छोपिएको छ । वर्षातको समयमा पानी अभाव नभएकाले ट्यूवेल नचलाएको दावी उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बस्नेतको छ । ‘चलाउने हो भने अहिल्यै पानी आउँछ’ उनले भने ।
यो योजनामा ५८ लाख ५१ हजार रुपैयाँ खर्च भईसकेको भूमिगत जलस्रोत तथा सिंचाई कार्यालय पोखराका प्रमुख नारायणकृष्ण गणेशले बताए । यसअघि पनि सोही खेतमा अर्को योजना रहेको बिषयमा भने उनले अनविज्ञता जनाए ।
मन्त्री बस्नेतले खेतमा मात्र होईन गोरखा नगरपालिका ३ नारेश्वर घलाङ स्थित भित्रिबारीमा पनि नयाँ योजना निर्माण गरेका छन् ।
अध्ययन तथा अनुसन्धानका लागि भन्दै उनले इन्भेस्टिगेशन डिप ट्यूवेल निर्माण गरेका हुन् । उक्त योजनामा ३३ लाख १६ हजार रुपैयाँ खर्च भईसकेको छ । तर त्यहाँबाट पनि अहिले पानी प्रयोग गरिएको छैन । डिप बोरिङ र विद्युतको काम मात्रै भएको छ । ट्याङ्की छैन । मोटर घर निर्माण पूरा हुन सकेको छैन । यो योजना पनि अलपत्र छ ।
बजेट नहुँदा काम गर्न नसकिएको घलाङ डिप ट्यूवेल सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष मिलिन्द्र बस्नेत बताउँछन् । उक्त योजनाले दुई दशमलव पाँच हेक्टर जमिन सिंचाई गर्ने लक्ष्य राखेको छ ।
दुबै योजनामा मन्त्रीका नातेदार उपभोक्ता समितिका अध्यक्ष छन् ।

ध्रुब लक्ष्मी कन्टूक्सन कम्पनी प्राली र उपभोक्ता समितिबाट यहाँ काम भएको छ । डिप ट्यूवेल निर्माणपछि ट्याङ्कीमा पानी जम्मा गर्ने र पाईपलाईनबाट उपभोक्तालाई दिने समितिका अध्यक्ष बस्नेतले बताए । तर ट्याङ्की बनेको छैन, पाईपलाईन पनि बिछ्याइएको छैन । अहिले योजना अलपत्र छ ।
रामशरण बस्नेत मन्त्री पदबाट हटेपछि यो योजनामा प्राथमिकताका साथ बजेट बिनियोजन भएन । ‘योजना सम्पन्न भएपछि यहाँका सय घरधुरीलाई पानी उपलब्ध गराउने लक्ष्य छ तर त्यसका लागि उपभोक्ताले विद्युत महशुल, हेरालु खर्च तिर्नुपर्छ’, उपभोक्ता समितिका अध्यक्ष बस्नेतले भने । ट्यूवेलबाट आएको पानी ट्याङ्कीमा जम्मा गरेर पाईपमार्फत एक सय घरमा पु¥याउन सहज छैन । घरहरु नजिक नभएकाले यो योजना मन्त्री बस्नेतले पारिवारिक प्रयोजनकालागि बनाएको भन्दै स्थानीयले आलोचना गरेका छन् ।
सिरानचोक गाउँपालिका ५ जरेवरको भूमिगत डिप ट्यूवेल सिंचाई प्रणाली मन्त्री बस्नेतको बेशीखेतमा छ । त्यहाँ टूान्सफर्म राखिएको छ । मोटरकालागि एक कोठे दुई तले घर बनाइएको छ । त्यो घरभित्र मकै थुपारिएको छ । ट्यूवेलको पानी संकलन गर्न ट्याङ्की निर्माण गरिएको छ ।
‘जग्गा अन्यत्र नपाएपछि रामशरण बस्नेतको आमाको नाममा रहेको जग्गाको मञ्जुरी नामा पाएकाले त्यहाँ बनाइएको हो’ उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बस्नेतले भने ‘मन्त्रीको खेतको लागि हैन, सबैले पाईप ल्याएर तानेर लैजान सक्छन तर विद्युतको महशुल उठेको रकम पानी प्रयोग गर्नेहरुले बरावर तिर्नुपर्छ ।’ उपभोक्ता समितिका अध्यक्ष बस्नेत आफैँले माछापोखरीसम्म भने पानी पु¥याएको बताउँछन् । उक्त ठाउँमा हिउँदको समयमा पानी अभाव हुने भएकाले सिंचाई, तरकारी खेती, माछा पालनकालागि पानी आवश्यक रहेको दावी उनले गरे ।
सिरानचोक गाउँपालिका ५ जरेवरको लिफ्ट सिंचाई योजना जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गोरखा मार्फत संचालन भएको हो । तत्कालीन समयमा यो कार्यालय पनि मन्त्री बस्नेतको पूर्वाधार बिकास मन्त्रालय अन्तरगत नै थियो ।
इनारबाट पानी तानेर लिफ्ट सिंचाई गर्ने गरी उक्त योजना २०७५ फागुन १३ गते प्रगति निर्माण सेवासँग सम्झौता भयो । २०७७ कात्तिक ५ गते योजना सम्पन्न भएको भन्दै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले निर्माण कम्पनीलाई ४५ लाख ५२ हजार भुक्तानी दिएको इन्जिनियर विष्णुहरि अधिकारीले बताए ।
इनार बनाउने लगायत केही काम करिब १५ लाख लागतमा उपभोक्ता समितिबाट भयो ।
पानी लिफ्ट गर्न दरौँदी नदीछेउमा इनार खनिएको छ । इनारबाट पानी ट्याङ्की जम्मा गर्ने र ट्याङ्कीबाट पाईपलाईन बिछ्याएर ३७ वटा ट्याप स्ट्याण्डमार्फत खेतखेतमा सिंचाई गर्ने योजना थियो ।
तर अहिले धेरै ट्यापस्ट्याण्डहरु पुरिएका छन् । पाईपलाईन पनि मध्यपहाडी सडकको काम गर्दा र पानी नचलेपछि किसान आफैँले पनि उप्काइदिएका छन् । ‘यो योजनाको एक दिन पनि पानी चलेको छैन’, स्थानीय पम्फे सार्कीले भने, ‘पाईप गाड्ने भन्दै उल्टै खेतको डिल भस्काईदिए ।’ पुर्नुपर्ने पाईप अलपत्र छाडिएको गुनासो उनको छ । फेरि यो योजना बन्ला र सिंचाई गरौँला भन्नेमा स्थानीय विश्वस्त छैनन् ।
सिंचाईकालागि टूान्सफर्मर राखिएको छ । मोटर घर निर्माण भएको छ । तर मोटर घर जहाँ निर्माण भएको छ त्यहाँका जग्गाधनीले समन्वय नगरी आफ्नो जग्गामा घर निर्माण गरेको भन्दै ताला लगाईदिएका छन् ।

निर्माण ब्यवशायीलाई भुक्तानी दिने बेला इनारको पानी नचढेपछि खोलाबाट पम्पले लिफ्ट गरेर भुक्तानी दिइएको थियो । ‘इनार उपभोक्ताले बनाएका हुन्, इनारबाट पानी चढ्न समस्या थियो तर खोलाको पानी ट्याङ्कीमा राखेर सबै धारामा पानी झारिएको हो’ सिंचाई डिभिजन कार्यालय गोरखाका इन्जिनियर विष्णुहरि अधिकारीले भने ।
किसानले भने निर्माण ब्यवशायीको भुक्तानीकालागि परीक्षण गरेपनि भोलिपल्टदेखि एकदिन पनि पानी नआएको गुनासो गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर अधिकारीले इनारबाट पानी नआएपनि अर्को इनार बनाउने योजना भएको तर बजेट नआउँदा बन्न नसकेको बताए । उपभोक्ताले पाईप उप्काईसकेका छन् भने केही पाईप अध्यक्ष अधिकारीको घरमा थन्किएको छ ।

यो तीनवटै योजनामा चालु वर्ष बजेट बिनियोजन भएको छैन । भूमिगत जलस्रोत तथा सिंचाई कार्यालय पोखराका प्रमुख नारायणकृष्ण गणेशले बजेट बिनियोजन नभएको बताए । ‘सिरानचोक ५ जरेवर र गोनपा ३ घलाङको क्रमागत योजना हो, यो सहित २१ वटाको बजेट काटिएको छ’, उनले भने ‘उर्जा मन्त्रालयबाट अर्थ मन्त्रालयमा फाईल गएको छ, अर्थले बजेट ब्यवस्था गरेको खण्डमा काम हुन्छ ।
’ यस वर्ष कार्यालयले प्रस्ताब गरे अनुसार बजेट नआउँदा यी योजना पुरा गर्न समस्या हुने उनले बताए । जरेवरको लिफ्ट सिंचाई आयोजनाकालागि जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयमा बजेट निकासा भएको छैन । केही बजेट हुने हो भने उक्त योजना मर्मत गरेर चलाउन सकिने इन्जिनियर विष्णुहरि अधिकारीले बताए ।




