
नयाँ पदमार्गको नक्शा र वृत्तचित्र विमोचन
धार्चे मनास्लु पर्यटन विकास समितिले गणेश कुण्ड र गणेश हिमालसम्मको नयाँ पर्यटन पदमार्गको नक्शा र पदमार्ग पहिचानसम्बन्धी वृत्तचित्र विमोचन गरेको छ । शनिबार गोरखा जिल्लाको समग्र पर्यटन विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा समितिले गणेश कुण्ड र गणेश हिमाल नयाँ पदमार्ग, काशीगाउँको रमणीय गन्तव्य र गणेशकुण्डसम्मको वृत्तचित्र विमोचन गरेको हो ।
गोरखाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन गणेश हिमाल कुण्डसम्म पदमार्ग नक्शा बनाइएको र २५ मिनेटको वृत्तचित्रमा निर्माण गरिएको समितिका अध्यक्ष साने गुरुङले बताए । धार्चे गाउँपालिका वडा नं १ र २ को सहयोगमा गणेशकुण्ड सम्मको पदयात्रा नक्सा र वृत्तचित्र निर्माण काम सम्पन्न भएको उनले जानकारी दिए ।
गोरखाको आरुघाटदेखि मान्बु, यार्सा, काशीगाउँ केरौजा, गणेशकुण्ड फेदी, कालोपोखरी, रुन्चेत, हल्चुक, गणेश हिमाल वेश क्याम्प लगायतका ठाउँहरुको प्रचार गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको उनले बताए । साथै गणेश हिमाल बेसक्याम्पसम्म यात्राको क्रममा देखिने विभिन्न स्थानका मनोरम दृश्यहरु, हिमाल, पहाडका दृश्यहरु, लालीगुराँस सहित विभिन्न रङ्गीचङ्गी पूmलहरु, विभिन्न प्रकार जडीबुटी र यहाँका स्थानीय साँस्कृतिक परम्परागत चालचलन वृत्तचित्रमा प्रस्तुत गरिएको उनको भनाइ छ ।
कार्यक्रममा गणेशकुण्डसम्म पदमार्ग विकास गर्नका लागि ठाउँमा भत्किएका, पहिरिएका पदमार्ग निर्माण गर्नुपर्ने, ठाउँ ठाउँमा काठेपोल र खानेपानीको व्यवस्थापन गर्नुपर्ने, बासस्थानका लागि भरिया घर निर्माण तथा पर्यटक बस्ने विशिर निर्माण गर्नुपर्ने र ठाउँ ठाउँमा चौतारी तथा प्रतिक्षालय निर्माण गर्नुपर्ने लगायतका धेरै संरचनाहरु निर्माण गर्नुपर्ने देखिएको उनले बताए । त्यस्तै, पदमार्गका विभिन्न ठाउँमा पदमार्ग सम्बन्धी सूचना टाँस्नुपर्ने उनले बताए ।
गणेशकुण्डसम्मको नक्शामा जिल्लाका सबै पर्यटकीय क्षेत्र समेटिएको उनले बताए । सो पदमार्गलाई तत्काल संचालनमा ल्याउन सके धार्चे, आरुघाट र चुमुनब्री गाउँपालिकाले धेरै लाभ लिन सकिने उनको भनाइ छ ।
कार्यक्रममा गोरख उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले समग्रमा गोरखा जिल्लाको पर्यटन प्रवद्र्धन गर्न जिल्लाको सबै पालिका, जिल्लामा रहेका विभिन्न संघसंस्था सबै नागरिक एकजुट भएर लाग्नुपर्ने बताए ।
गोरखाको पर्यटन क्षेत्रका विकास गर्न होमस्टे, होटलहरु थप व्यवस्थित भएर संचालन गर्नुपर्ने, पर्यटकहरुका लागि नयाँ गन्तव्य खोजी गर्नुपर्ने टानका उपाध्यक्ष धन बहादुर गुरुङले बताए । गोरखाको पर्यटन प्रवद्र्धनमा सक्दो सहयोग गर्ने समेत उनले बताए ।
उत्तरी गोरखा जाने पर्यटकलाई गोरखाबजारमा पनि भित्र्याउने व्यवस्था मिलाउनुपर्ने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाइ थियो । साथै दीगो पर्यटन विकासका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाको भनाइ थियो । पर्यटनलाई प्रविधिमैत्री बनाउनु पर्ने उनको भनाइ छ ।
धार्चे पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा, आरुघाट गाउँपालिकाका उपाध्यक्ष कल्पना नेपाली, टानका उपाध्यक्ष धनबहादुर गुरुङ, टानका गण्डकी प्रदेशका अध्यक्ष सुशील पौडेल, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, समितिका कोषाध्यक्ष हरिमान गुरुङ लगायतले मन्तव्य राखेका थिए ।




