
गोरखाको ऐतिहासिक ठाउँ घुम्दै रश्मोरको टोली
पाँच दिने भ्रमणका लागि नेपाल आएको बेलायतको रश्मोर बरो काउन्सीलको टोलीले गोरखाको ऐतिहासिक ठाउँहरुको भ्रमण गरेको छ । गोरखा संग्रहालय, गोरखा दरवार र भिमसेन पार्कको टोलीले भ्रमण गरेका गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकालले बताए ।
रश्मोर बरोको प्रतिनिधिमन्डलको नेतृत्व डेपुटी काउन्सिल लिडर मरिस सिहानले गरेका छन् । सो प्रतिनिधि मण्डलमा रसमोर बरो काउन्सिलका काउन्सिलर जीव बेल्वासे, डेमोक्रेसी एन्ड पार्टनरसीप प्रमुख एन्डू क्लोभरका, श्रीमती अमृता बेल्वासे र इज्जी सिहान पनि छन् ।
गोरखा नगरपालिका कार्यपालिकाको शुक्रवारको बैठकले बेलायतबाट आएका पाहुनालाई भब्य स्वागत गर्ने निर्णय सँगै नगरपालिकामा औपचारीक स्वागत गरेको छ ।
नगरप्रमुख कृष्णबहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्यहरु, कर्मचारी, पूर्व जनप्रतिनिधिहरुले रश्मोरको टोलीलाई स्वागत गरेका थिए । रश्मोर बरोका डेपुटी काउन्सिल लिडर मरिस सिहानको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका पूर्व नगरप्रमुख राजनराज पन्त, काउन्सिलर जीव बेल्वासे, डेमोक्रेसी एन्ड पार्टनरसीप प्रमुख एन्डू क्लोभरका, इज्जी सिहान, उपप्रमुख मसलीमाया थोकर लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा बोल्नेहरुले दुई नगरबिचको संम्बन्ध र आपसी हित अभिवृद्धी गर्ने चाहना रहेको अभिब्यक्ति दिएका थिए । दुई नगरबिचको आपसी सद्भावलाई थप बढवा दिँदै सहकार्यलाई निरन्तरता दिने विषयमा दुबै पक्षले सकारात्मक धारणा राखेका प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकालले बताए । शुक्रवार साँझ गोरखा गार्डेन होटलमा पाहुनाको स्वागतका लागि नगरपालिकाले रात्रीभोजको आयोजना गरेको जनाएको छ ।
शनिवार बिहान गोरखा स्थित बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुखहरुसँग छलफल गर्ने कार्यक्र तय भएको छ । दिउँसो गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना हुँदै सौराह भ्रमण गर्ने र भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल सहितको टोलीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकालले बताए ।
गोरखा नगरपालिकासित भगिनी सम्बन्ध स्थापित गरेको बेलायतको रश्मोर बरोका एक प्रतिनिधिमण्डल भदौ १३ गते गोरखाबाट फर्कने तय भएको छ ।
यसअघि सन् २०१९ मा गोरखा नगरपालिकाका मेयरको प्रत्यक्ष उपस्थितिमा बेलायतमा दुई नगरबीच मितेरी सम्बन्ध गांसिएको थियो । त्यसयता कोभिड महामारीको कारण रश्मोर बरो काउन्सिलको पहलमा करिब ८० लाख रुपैया बराबरको राहत तथा स्वास्थ्य सुरक्षा सामग्री गोरखा पठाएको थियो ।




