| सोमवार, कार्तिक २३, २०८३

महशुल तिरेर पर्याप्त पानी प्रयोग गर्न पनि पाइँदैन

दोषजति हामी अरुतिर अझै सरकारतिर देखाउँछौँ किनभने सरकार, राज्य भनेपछि त्यो अमुक हुन्छ, जति सत्तो सराप गरे पनि हुन्छ भन्ने हाम्रो मानसिकता छ । आफूले गरेको कार्यसम्पादन कत्तिको सेवाग्राहीमैत्री छ भन्नेतिर हाम्रो चिन्तन, मनन नै छैन । आफूमैत्री भएपछि सबैमैत्री छ भन्ठान्ने हामीमा भ्रम छ । पुस्तौँदेखि चलिआएको, हामीले अपनाउँदै आएको व्यवस्था पुनरावलोकन गर्नुपर्ने पो छ कि भन्नेतिर हामी सचेत पनि छैनौँ, कसैले औँल्याइदियो भने पनि हामी उनीहरुको सुझावमा कन्भिन्स नै हुन्नौँ ।

कर्णेखोला, तीनचापे, छहरेधारा लगायतका खानेपानी उपभोक्ता समितिमा पनि समस्या होलान् । विशेषतः धेरै उपभोक्ता भएको र सदरमुकाम बजारमा पानी वितरण गर्ने भएकाले पृथ्वीनारायण साना सहरी खानेपानी योजनाको चर्चा अल्लि बढि हुने गर्छ । यी सबै लोकल संस्थाहरुलाई समेटेर दरौँदी वृहत लिफ्टिङ आयोजना सञ्चालन भयो । सो आयोजनाले गोरखा नगरपालिका २, ३, ४, ५, ६, ७, ८ का आंशिक तथा पूर्ण भूभागमा पानी वितरण गर्ने लक्ष्य राखेर काम धन्नैधन्नै सम्पन्न गर्ने अबस्थामा छ । यी विभिन्न वडामा २२ वटा सदस्य संस्थाहरु छन् । जसमध्य हाल सातवटा सदस्य संस्थाहरुले पानी पाउने अबस्था छ ।

वडा नं. ६, ७ र ८ का विभिन्न टोलहरुमा पानी वितरण गरिरहेको पृथ्वीनारायण साना सहरी खानेपानी योजनाले अहिले पानी वितरण त गरिरहेको छ, तर पर्याप्त गरेको छैन । यो आयोजना सुरु हुँदा आयोजनाले जोडेको धारामा २४सै घण्टा पानी आउने भनिएको थियो, तर अहिले हप्तामा दुईफेर एकाधघण्टा मात्र पानी दिनेगर्छ । यसैलाई फारो गरी(गरी पानीको उपभोग गर्नुपर्ने अबस्था छ ।

यता उपभोक्ताले आवश्यकता अनुसारको पानी प्रयोग गर्न पाएका छैनन्, यता दरौँदी लिफ्टिङले क्षमताअनुसारको पानी वितरण गर्न पाएको छैन । बिचौलियाका रुपमा बीचमा रहेका खानेपानीका सदस्य संस्थाहरुले आफ्नो तजबीजले १० बर्षअघि जसरी पानी वितरण गर्थे, अहिले पनि त्यसमा परिवर्तन गरेका छैनन् । खपत गरेको पानीको महशुल तिर्ने उपभोक्ताले हो, मागअनुसारको पानी उपलब्ध गराउने दरौँदी लिफ्टिङले हो । बीचमा सदस्य संस्थाहरुले अवरोध गर्नुको कुनै उचित कारण छैन । उपभोक्ताले महशुल तिरेर पर्याप्त पानीको प्रयोग गर्न पाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्