
गाउँगाउँमा चुनाव लक्षित भेटघाट गर्दै गोरखा कांग्रेस
जनताको साथमा नेपाली कांग्रेस अभियान गोरखामा बिहिवारदेखि सुरु भएको छ । देशब्यापी अभियान सुरु गर्ने केन्द्रिय समितिको योजना र निर्देशन अनुसार गोरखामा पनि सुरु भएको शुक्रवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस सभापति नन्दप्राद न्यौपानेले बताए ।
केन्द्रबाट खटिएर आएका प्रतिनिधि केन्द्रीय सदस्य ध्रुब वाग्ले उपस्थितीमा सबै क्षेत्र समेट्ने गरी कार्यक्रम संचालन गरिने कांग्रेस गोरखाले जनाएको छ । केन्द्रिय सदस्य वाग्लेले समाजको तल्लो तहमा रहेका जनतासँगको घनिभुत छलफल गर्ने अभियानको रुपमा यो अभियान संचालन हुने बताए । ‘सजिव अन्तरक्रिया र संम्बन्धको रुपमा यसलाई संचालन गरिन्छ’ उनले भने ‘टोलटोलमा बस्ने फरक फरक समुदायका सबै मान्छेसँग भेटेर उहाँको कुरा सुन्ने र आफ्नो कुरा पनि राख्न प्रतिनिधिलाई निर्देशन दिएको छु ।’ आउँदो चुनाव लक्षित यो कार्यक्रम देशब्यापी रुपमा संचालन भएको उनले बताए ।
जिल्लाको ९४ वटै वडामा पार्टीले अभियानका लागि प्रतिनिधि खटाएको सभापति न्यौपानेले बताए । हरेक नागरिकको घरमा पुग्ने, उनीहरुको कुरा सुन्ने, आफ्नो कुरा सुनाउने गरी क्षेत्र, प्रदेश क्षेत्र, पालिका, वडा र टोल समितिलाई जिम्मेवारी दिइएको उनले बताए । पत्रकार सम्मेलनमा कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले गोरखामा कांग्रेस र माओवादीलाई आधा÷आधा सिट बाँडफाँड हुनुपर्ने दावी गरे । ‘गठबन्धनका दलहरुको मत हेर्दा गोरखामा माओवादी र कांग्रेसको उस्तैउस्तै छ’ उनले भने ‘दुईवटा प्रदेश क्षेत्र र एउटा कांग्रेसलाई बाँकी दुई प्रदेश र एउटा संघिय क्षेत्र माओवादीलाई हुने गरी तालमेल हुनुपर्छ भन्ने निर्णय जिल्ला पार्टीले गरेको छ ।’
कांग्रेसले गोरखा जिल्लाभर चुनाव लक्षित कार्यक्रमलाई तिब्र बनाएको, भातृ तथा सुभेच्छुक संघ संगठनसँग छलफल तथा अन्तरक्रिया भईरहेको जिल्ला सचिव किशोरजंग थापाले बताए । जनताको साथमा नेपाली कांग्रेस अभियानको पहिलो दिन बिहिवार पार्टी कार्यालय तीनधारेमा कार्यक्रम भएको र दोस्रो दिन गोरखाको शहीदलखन गाउँपालिकामा कार्यक्रम सुरु भएको गाउँपालिका सभापति काशिनाथ अम्गाईले बताए ।




