
दरौँदी लिफ्टिङको पानी छेलोखेलो, तर सदस्य संस्थाले उपभोक्तालाई पुग्नेगरी दिँदैन
दरौँदी गोरखा (वृहत लिफ्टिङ) खानेपानीले दैनिक २० लाख लिटर पानी बितरण गर्न सक्छ । तर गोरखा बजार र आसपास यसको सेवा क्षेत्रभित्र दैनिक १८ लाख लिटर मात्र पानी खपत हुन्छ । दरौँदी लिफ्टिङमा आवद्ध सदस्य संस्थाहरुसित आफ्नै स्रोतको पानी छ । आफ्नो स्रोतको पानी बितरणमा प्राथमिकता दिएका ती संस्थाहरुले दरौँदी लिफ्टिङको पानी लिएर उपभोक्तालाई बितरण गर्न चासो दिएका छैनन् । ती सदस्य संस्थाहरुले एकातिर उपभोक्तालाई पानी दिन कञ्जुस्याईँ गरिरहेका छन्, अर्कातिर पानी दिने माउ संस्था दरौँदी लिफ्टिङसित पानी लिन हिच्किचाइरहेका छन् ।
दरौँदी लिफ्टिङमा २२ वटा उपभोक्ता संस्था आवद्ध छन् । यीमध्ये ६ वटाले मात्रै दरौँदीको पानी लिन्छन् । त्यही पनि अत्यन्त नगन्य परिमाणमा । साना सहरी, कर्णेखोला, तीनचापे, जुँगेपानी, हटियाथोक(पोखराथोक, तीनघरे र थाकलडाँडा खानेपानी आयोजनाले चार महिनामा २५ हजार नौ सय ६२ युनिट अर्थात करिब ३० लाख लिटर मात्रै खपत गरेका छन् ।
दरौँदी लिफ्टिङले डेढ दिनमा उपलब्ध गराउने क्षमताको पानी छ वटा संस्थाहरुले खपत गर्न चार महिना लगाएका छन् । सदस्य संस्थाहरुको कमजोरीका कारण दरौँदी लिफ्टिङको पानी सोचे अनुसार उपभोक्ताको घरमा नपुगेको दरौँदी गोरखा (वृहत लिफ्टिङ) खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बिनोद अर्यालले बताए ।
‘अहिले हामीले निशुल्क दिएको बेला त खपत दर कम छ’, उनले भने ‘खानेपानी बितरण गर्ने संस्थाले उपभोक्ताई २४ सै घण्टा पानी दिएपनि हामीले संस्थाहरुलाई दिन सक्ने अवस्था छ ।’
दरौँदीको पानी फिल्टर गरिएकाले पिउन योग्य रहेको बिहिवार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्यालले दावी गरे । साथै उनले पानी लिँदै आएका उपभोक्ता संस्थाहरुलाई ग्राहक संख्या बिस्तार गर्न, धारा जडान बढाउन, निरन्तर पानी दिन पनि अनुरोध गरेका छन् । ‘हामी आफैँले पनि धारा जडान गर्ने, उपभोक्तालाई शुद्ध पानी दिने, पानी धेरै भयो भने बोटलिङ गरेर बिक्री गर्ने सम्मका योजना बनाएका छौँ’, उनले भने । खानेपानी बितरण गर्दै आएका उपभोक्ता संस्थालाई ट्यांकीको क्षमता बढाउन, लाईन बिस्तार गर्न गर्नुपर्ने सहयोग पनि गर्न तयार रहेको उनले बताए ।
२०७३ सालदेखि निर्माण सुरु भएको उक्त आयोजना २०७८ मा सकिएको हो । गत फागुनदेखि निर्माण कम्पनी चुँदी रमन जेभीले परीक्षणकाल सुरु गरेको छ । दरौँदीबाट लिफ्ट गरिएको पानी उपल्लोकोट हुँदै गोरखा नगरपालिका २ को केही ठाउँदेखि वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ सम्म बितरण गर्न सकिने समितिले जनाएको छ ।
दरौँदी गोरखा (वृहत लिफ्टिङ) खानेपानी उपभोक्ता समितिले महशुल निर्धारण र बितरण मोडालिटीबारे टुङ्गो लगाउन बिज्ञ टोली गठन गरेको छ ।
दरौँदी लिफ्टिङ करिब ४२ करोड लागतमा निर्माण भएको आयोजना हो । उक्त आयोजना निर्माण भईसकेपछि पनि गोरखा बजारका उपभोक्ताले अन्यत्र भन्दा महँगो महशुल तिरेर पानी पिउन बाध्य छन् । महँगो महशुलको पानी पिउन योग्य नहुनु, निरन्तर उपलब्ध नहुने समस्या भने यसअघि जस्तै छ ।
दरौँदी गोरखा (वृहत लिफ्टिङ) खानेपानीले गोरखामा पानीको हाहाकार अन्त्य गर्ने गरी योजना बनाएर अघि बढेको उपभोक्ता समितिका अध्यक्ष बिनोद अर्यालले बताए । ‘सबैलाई सहुलियतमा सुद्ध पानी पु¥याउने गरी हामीले योजना बनाइरहेका छौँ’ उनले भने ।




