| मङ्लबार, कार्तिक २४, २०८३

आफ्नो काम, कर्तव्य र अधिकारबारे दीक्षित हुदै वडा अध्यक्षहरु

केशव गुरुङ :

गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट गोरखामा ९४ वटावडा अध्यक्ष निर्वाचित भए । केहीबाहेक धेरै नयाँ अनुहारका छन् ।
सामाजिक काममा अग्रसर भएको अनुभव भए पनि उनीहरुमा वडा अध्यक्षको काम, कर्तव्य र अधिकार बारे विज्ञ थिएनन् । यस्तैमध्यकी एक थिइन्, शहिदलखन थापा गाउँपालिका वडा नम्बर २ मनकामनाकी सकुन थापा ।

अघिल्लो कार्यकालमा वडा सदस्य भए पनि वडा अध्यक्षको क्षेत्रअधिकारको बारे उनमा उत्ति ज्ञान थिएन । गत भदौ ५ गतदेखि ८ गतेसम्म सदरमुकाममा चलेको संवैधानिक र कानूनी अधिकार, जिम्मेवारी तथा योजना निर्माण सम्बन्धी तालिम लिएसँगै उनी आफ्नो काम कर्तव्य र अधिकार बारे जानकार भएकी छिन् । ‘तालिमबाट मैले वडा अध्यक्षले गर्नुपर्ने काम, कर्तव्य र अधिकार बारेमा धेरै कुरा सिक्ने अवसर पाएँ’, उनले भनिन्, ‘हामी राज्यले दिएको कानुन अनुसार मात्र चल्नुपर्ने रहेछ । व्यवहारिक रुपमा जानै नहुने रहेछ । मेरो बाउ, मेरो छोरा, मेरो आफन्त भन्ने वित्तिकै हामी ठूलो कारवाहीको दायरामा जानुपर्ने देखियो ।’

वडा अध्यक्षको क्षेत्र अधिकार भन्दा बाहिर गएर नातावादका आधारमा काम गर्दा ठूलो कारवाहीमा पर्ने देखिएको उनको भनाइ । त्यस्तै, स्थानीय तहमा बहुविवाह, देवानी र फौजदारी मुद्दाका बारेमा पनि जानकारी मिलेको उनले बताइन् ।

धार्चे गाउँपालिका वडा नंम्बर सातका अध्यक्ष राकेश गुरुङको पनि उस्तै अनुभव छ । भर्खर वडा अध्यक्षमा निर्वाचित हुँदा वडाको क्षेत्रअधिकार बारेमा अनविज्ञ थिए । ‘हामी नयाँ भएकाले कानुन अनुसार कसरी सिफारिस दिने, फौजदारी र देवानी मुद्दाहरुमा पालिका र वडाले गर्नहुने र गर्न नहुने कुराहरु थाहा थिएन, वडा अध्यक्षले गर्ने कामहरुमा भोलि कसैले प्रश्न उठाउन नसक्ने गरी कसरी गर्ने भन्ने लगायतका कुराहरु सिक्ने अवसर पाएँ । अझै सिक्ने चरणमा छौँ’, उनले भने ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ प्रोकका वडा अध्यक्ष पेमा ग्याल्पो लामाले पनि प्रशिक्षणमा धेरै कानुनी कुराहरु सिक्ने अवसर पाएको बताए । ‘हामी नयाँ पनि हो, हामी धेरै कुरा थाहा हुदैन, कानुन नियमहरु थाहा छैन, वडाको सिफारिस कसरी गर्ने थाहा छैन,’ उनले भने, ‘विशेष गरेर पञ्जीकरणले कुनकुन सिफारिस दिन मिल्ने रहेछ । वडास्तरमा हामीले के के सिफारिस दिन मिल्ने रहेछ । त्यो कुराहरु सिक्ने अवसर पाइयो ।’ भौगोलिक विकटता भएता पनि राज्यले निर्माण गरेको नीति तथा कार्यक्रमहरु प्रभावकारी ढंगले कार्यान्वयन गर्नुमा नै सधै केन्द्रित रहने उनले बताए । विशेष गरेर दोहोरो सुविधाका लागि सिफारिस लिनेहरुबाट एकदम सजक भएर काम गर्नुपर्ने देखिएको समेत उनले बताए ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समितिको आयोजनामा दुई चरणमा वडा अध्यक्षहरुलाई संवैधानिक र कानूनी अधिकार जिम्मेवारी तथा योजना निर्माण सम्बन्धी तालिम दिएको हो । ९४ वडा रहेको गोरखामा ८३ जना वडा अध्यक्ष प्रशिक्षण कार्यक्रममा सहभागी रहेको र ११ जना विविध कारणले आउन नसकेको उनले बताए । सो प्रशिक्षण कार्यक्रममा वडा अध्यक्षको संवैधानिक र कानूनी अधिकार, जिम्मेवारी र योजना निर्माणका बारेमा जानकारी दिएको जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले बताए ।

स्थानीय तहका काम कर्तव्य र अधिकारहरु, वडा समितिको क्षेत्र अधिकार, वडा समितिले गर्ने सिफारिस र प्रमाणपत्रका बारेमा जानकारी दिएको उनले बताए । त्यस्तै, सामाजिक सुरक्षा भत्ता र पन्जीकरण सम्बन्धी घटना दर्ताहरु, स्थानीय तहमा वडा अध्यक्षले गर्ने मुचुल्का सम्बन्धी प्रावधानहरु, वडा समितिले विभिन्न किसिमका योजना तर्जुमा कसरी गर्ने लगायतका बारेमा प्रशिक्षण दिएको पोखरेल जानकारी दिए । कार्यक्रममा पुर्व प्रशासक कृष्णप्रसाद अधिकारी, रामहरी देवकोटाले प्रशिक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्