
पालुङटारमा एक सय ९९ पिन्ट रगत संकलन
देशब्यापी रगत अभाव भइरहेका बेला गोरखाको पालुङ्टारमा बुधवार एक सय ९९ पिन्ट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको समन्वयमा पालुङटार नगरपालिका र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले संयुक्त रुपमा आयोजना, गरेको कार्यक्रममा एक सय ९९ जनाले रक्तदान गरेका हुन् ।
१९ पिन्ट रगत गोरखा स्थित रक्तसंचार केन्द्रमा ल्याइएको र बाँकी एक सय ८० पिन्ट रगत चितवनस्थित रक्तसंचार केन्द्रमा पठाइएको रेडक्रस गोरखाका सुवास घिमिरेले बताए । चितवन पठाइएको रगत पनि गोरखामा माग भएमा ल्याउन सकिने उनले बताए ।
‘अहिले गोरखामा रगतको माग कम छ, चितवनमा धेरै छ’, उनले भने, ‘गोरखामा आवश्यक प¥यो भने रगत संकलनमा पनि समस्या छैन ।’ गोरखामा नौ सय ५० रुपैयाँमा एक पिन्ट रगत रक्तसंचार केन्द्रले उपलब्ध गराउँदै आएको छ । यहाँ रगतको आवश्यक कम पर्ने भएकाले खपत दर न्यून छ ।
गोरखामा शल्यक्रियाहरु कम हुनु, उपचार गर्न अन्यत्र ठूला अस्पताल जानुपर्ने बाध्यता भएकाले रगत खपत दर घटेको रेडक्रस गोरखाले जनाएको छ ।
पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेयर विवश चिन्तन, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, उपमेयर बन्दना पाण्डे, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाका सभापति यदुविलास भट्टराई, इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक प्रताप पौडेल लगायतले मन्तब्य राखेका थिए ।




