
भड्किलो र खर्चिलो गरी तिज नमनाउन गोरखा प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय गोरखाले भड्किलो र खर्चिलो गरेर तिज नमनाउन आग्रह गरेको छ ।
केही वर्ष यता हरितालिका तिज पर्व मनाउने नाममा तडक भडक सहित खर्चिला कार्यक्रम हुने गरेको पाइएकाले त्यस्तो नगर्न नगराउन सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सुचना जारी गर्दै अनुरोध गरेका छन् ।
यस वर्षको हरितालिका तिज भदौ १४ गते परेको छ । तिज नजिकिँदै गर्दा बिभिन्न संघ संस्था, समुहहरुले दरखाने कार्यक्रम धमाधम आयोजना गर्न थालेपछि प्रशासनले सुचना जारी गर्दै सचेत गराएको जनाएको छ ।\
परम्परा, रिति रिवाजलाई निरन्तरता दिने तथा सम्बर्दन गर्ने बाहेक अन्य कुनैपनि खालका खर्चिला, महँगा तिजसंग सम्बन्धित कार्यक्रम नगर्न सुचनामा भनिएको छ । साथै उक्त काममा सघाउन राजनीतिक दल, सामाजिक संघसंस्था,नागरिक समाज सबैलाई अनुरोध गरिएको सहायक प्रजिअ बरालले बताए ।
भड्किलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रम गरेर गराएमा कानुन बामोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





