
गोरखा अस्पतालमा हेमोडायलासिस सेवा सुरु
गोरखा अस्पतालमा मंगलवारबाट हेमोडायलासिस सेवा सुरु भएको छ । पहिलो दिन एकजना बिरामीको हेमोडायलासिस गरेर सेवा सुरु गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
‘पहिलो पटक मिर्गौलाको डायलासिस अन्य अस्पतालमा गराएका र निरन्तर सेवा लिनुपर्नेहरुका लागि यहाँ नै हेमोडायलासिस सुरु भएको छ’, उनले भने । यसअघि कुनै अस्पतालबाट डायलासिस सेवा सुरु गराएका बिरामीले निरन्तर सेवा लिनका लागि गोरखा अस्पतालबाट सेवा दिन सकिने उनले बताए । मंगलवार हेमोडायलासिस गराएका बिरामीले यसअघि नियमित सेवा दमौलीबाट लिँदै आएका थिए ।
यहाँबाट हेमोडायलासिस गराउनुपर्ने बिरामीले पूर्व जानकारी गराउनुपर्ने अस्पतालले सुचना गरेको छ । अहिलेसम्म पाँच जना बिरामीले सम्पर्क गरिसकेका छन् । बुधवार दुई जना र क्रमैसँग सबैले सेवा पाउने सूचना अधिकारी ढकालले बताए । अहिले नाम दर्ता गराएकाहरुले पनि काठमाडौँ, पोखराबाट सेवा लिँदै आएको बताएका छन् । हेमोडायलासिस सेवा जिल्ला अस्पतालमै सुरु भएपछि बिरामीहरुलाई फाईदा पुगेको छ ।
अस्पतालले यो सेवा निशुल्क दिएको छ । ‘अस्पतालमा सेवा थपिएको छ, सर्वसाधारणलाई राहत मिल्छ’, अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने, ‘तालिमप्राप्त विशेषज्ञ, फिजिसियन, एमडिजिपी चिकित्सक नभएको खण्डमा समस्या हुन सक्छ ।’ विशेषज्ञ चिकित्सकको दरबन्दी रहिरहने हो भने सेवा निरन्तर दिन सकिने उनले बताए ।
हेमोडायलासिसमा प्रयोग हुने उपकरण लामो समयदेखि अस्पतालमा थन्किएको थियो । नयाँ भबन निर्माण भएसँगै अस्पतालले यो सेवा थप गरेको हो ।




