
सडकको बिकल्प खोज्नुपर्छ, एयरपोर्ट चल्नुपर्छ
गोरखा पालुङटार एयरपोर्ट अहिले संचालनमा छैन । एयरपोर्ट प्रयोगमा नआएपछि तनहुँ हुँदै पालुङटार प्रवेश गर्ने सडक एयरपोर्टको जग्गाबाट निर्माण गरिएको छ ।
तर अहिले एयरपोर्ट संचालनमा सडक बाधक बनेको छ । एयरपोर्टको जग्गा अतिक्रमण गरेर सडक निर्माण भएपछि एयरपोर्टलाई जग्गा अपुग भएको हो । गत वर्षदेखि संचालनमा ल्याउने गरी एयरपोर्टमा मर्मत, सुधार र आवश्यक पूर्वाधारण बनाउने गरी ठेक्का भएको थियो । समयमै काम पूरा नहुँदा एयरपोर्ट संचालनको मिति धकेलिएको छ ।
२०१८ सालदेखि उडान सुरु भएको पालुङटार एयरपोर्ट लामो समयदेखि बन्द छ । बन्द रहेको एयरपोर्ट पुन संचालन गर्न नागरिक उड्डयन प्राधिकरणले काम थालेको हो । तीन करोड भन्दाबढि बजेटबाट काम हुन लागेको त्यहाँ सम्पन्न हुनुपर्ने बेलासम्म अहिले ७० प्रतिशत मात्रै पूरा भएको छ । रन वे निर्माण, ग्रेडिङ, तारबार लगायतको काम हुनुपर्नेमा पूरा भएको छैन । एयरपोर्ट भित्रको सडक हटाउने, अतिक्रमण भएको जग्गा फिर्ता लिने गर्नुपर्छ । त्यसका लागि नगरपालिकाको भूमिका महत्वपूर्ण छ ।
बैकल्पिक बाटो बनाउन सकेको खण्डमा पालुङटार एयरपोर्ट चल्न सक्छ । अन्यथा करोडौँ लगानी गरेर पनि एयरपोर्ट चल्ने संभावना कम छ । सडकको बिकल्प खोज्न त्यति असहज छैन । एयरपोर्ट संचालनमा आएपछि पालुङटारमा चहपहल बढ्छ । त्यहाँका स्थानीयको रोजीरोटी र दैनिकीमा प्रत्यक्ष, अप्रत्यक्ष फाईदा पुग्छ । स्थानीय सरकारले एयरपोर्ट भित्र परेको सडकलाई तत्काल स्थानान्तरण गर्नतर्फ ध्यान दिनुपर्छ । अहिले क्षणिक कसैलाई फाईदा, घाटा हेर्न थालियो भने गोरखा, तनहुँ, लमजुङ, मनाङका स्थानीयले प्रयोग गर्ने पालुङटार एयरपोर्ट प्रयोगबिहिन हुन सक्छ ।
एयरपोर्ट चलाउनेबेला सडक बन्द गर्ने अन्य समयमा खोल्ने भन्ने विषय त्यति सहज देखिँदैन । प्राविधिकहरुका अनुसार पाईलटले यस्तो ठाउँमा रिस्क महशुस गर्न सक्छन् । उडान नियमित र जुन गतिमा हुनुपर्ने थियो त्यो नहुनु सक्छ । साथै पोखरामा अन्तराष्टिूय बिमानस्थल निर्माण अन्तिम चरणमा छ । पोखराबाट नजिक रहेको पालुङटार बिमानस्थल त्यो कारण पनि चल्ने संभावना छ । पालुङटार र सिङ्गो गोरखाको फाईदाका लागि तत्काल एयरपोर्ट संचालनमा ध्यान दिनुपर्छ ।




