| मङ्लबार, कार्तिक २४, २०८३

कोभिडले सुस्ताएको मनास्लु पदमार्गमा पर्यटक बढ्दो

गोरखाको मनास्लु पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । कोभिडका कारण २०७६÷०७७ को अन्त्यदेखि पर्यटकको घटेको मनास्लु क्षेत्रमा २०७७÷०७८ मा एकसय ९४ जनाले मात्रै यात्रा गरेका थिए । २०७८÷०७९ को गत आर्थिक वर्ष कोभिडको प्रभाव कम हुँदै गएपछि दुई हजार दुई सय ६६ जना पर्यटकले मनास्लु क्षेत्रमा यात्रा गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ ।

गत आर्थिक वर्ष बढेको यो संख्या २०७५÷७६ को भन्दा कम हो । उक्त वर्ष सात हजार छ सय ५५ जना बिदेशीले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । यो संख्या अहिलेसम्म कै धेरै हो । कोभिडको प्रभाव कम भएपछि पर्यटक बढ्न थालेको एमक्याप गोरखाका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले बताए ।

गत वर्ष सबैभन्दा धेरै चैत महिनामा आठ सय आठ जना पर्यटकले मनास्लु क्षेत्रको यात्रा गरेका छन् । बैशाखमा चार सय ३३ जनाले यात्रा गरे भने गत असारमा सबैभन्दा कम १० जना पर्यटक मात्रै मनास्लु पुगे । २०७८ साउन महिनामा एक जना पनि पर्यटक पुगेनन् ।
गतवर्ष मनास्लु पुगेका दुई हजार दुईसय ६६ मध्ये आठसय ४८ जना महिला र १४ सय आठ जना पुरुष रहेको एमक्यापले जनाएको छ । पर्यटक मध्ये ६१ जना सार्क राष्ट्र भित्रका हुन् भने बाँकी दुई हजार एक सय ९५ अन्य राष्ट्रका हुन् ।

मनास्लु क्षेत्रमा आउने पर्यटकले चुमभ्याली भ्रमण र लार्केपास गर्ने गरेका छन् । साथै आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि पनि आरोही आउने गरेका छन् । त्यस्तै पाँच हजार दुई सय १३ मिटर अग्लो लार्के भञ्ज्याङ पार गर्न पनि पर्यटक आउने गरेको एमक्यापले जनाएको छ ।

मनास्लु क्षेत्रको मनास्लु बेसक्याम्प, वीरेन्द्रताल, कल्छुमानताल(कालताल), श्रृङ्गीगुम्बा, पुङ्ेगन गुम्बा, राजेनगुम्बा, म्हुगुम्बा पर्यटकको रोजाइमा पर्ने गरेको छ । गोरखाको आरुघाटबाट बुढीगण्डकीको किनारै किनार मनास्लु क्षेत्रसम्म पदमार्ग फैलिएको छ । कतिपय पर्यटक भने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत मनाङ हुँदै पनि आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्