
विद्यालयको आँगनमा विद्युत प्राधिकरणको दुईवटा पोल
शक्ति माध्यमिक विद्यालयको आँगनमा निर्वाध रुपमा बालबालिका खेल्ने चौरमा विद्युत प्राधिकरणले दुई वटा पोल ठड्याएको छ ।
२०७२ सालदेखि विद्यालयको आँगनमा प्राधिकरणले पोल ठड्याएको हो ।
आँगनको बीचमा दुईवटा पोल हुँदा विभिन्न खाले बाधा व्यवधार झेल्नु परेको विद्यालयले जनाएको छ । ‘यसलाई हटाउन गत बर्षको मंसीरमा विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रमा अनुरोध गरेको थिएँ’, केन्द्रकै सुझाव अनुसार प्राधिकरणको प्रदेश कार्यालय पोखरामा पनि पत्राचार गरेको थिएँ तर अहिलेसम्म हटाएको छैन’, विद्यालयका प्रधानाध्यापक बद्री अर्याल भन्छन्, ‘बीच आँगनमा दुईवटा पोल हुँदा विद्यार्थीहरुलाई भलिबल, फुटबल, दौड लगायतका खेलकुदका कार्यक्रम गर्न पनि असुविधा भएको छ । विद्यालयको आँगनमाथिबाट नाङ्गो तारमा टूान्समिशन लाइन तानिएको छ । यसले झन जोखिम बढाएको छ ।’
विद्यालयमा बर्षेनी वृक्षारोपण गरिन्छ तर टूान्समिशन लाइनका कारण बर्षमा दुईपटकसम्म अशोका वृक्ष काट्नु पर्ने समस्या रहेको उनको भनाइ छ ।
विद्युतका पोल र टूान्समिशन लाइनका कारण विद्यालयमा परेको असरबारे अघिल्लो कार्यकालका मेयर, वडाअध्यक्ष र नयाँ कार्यकालका मेयर तथा वडाअध्यक्ष, पुराना र नयाँ प्रमुख जिल्ला अधिकारी सबैमा बारम्बार जानकारी गराइरहेको प्रअ अर्यालको गुनासो छ । ‘यत्तिका समय भइसक्दा कतैबाट पनि सुनुवाइ भएन’, प्रअ अर्यालले भने, ‘२०७२ सालअघि विद्यालयको पछाडिको भागबाट टूान्समिशन लाइन लगिएको थियो । भूकम्पपछि विद्यालयको बीचमा खम्बा गाडेर तार टाँगियो । अहिले त्यही साविककै भागबाट लैजाऔँ न त भनेर अनुरोध गर्दा कसैले सुनुवाई गर्दैनन् ।’
बर्षातका बेला पोलमा विद्युत प्रवाह हुन सक्ने र विद्यार्थीलाई जोखिम हुनसक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । विद्युत प्राधिकरणले भने टूान्समिशन लाइनका लागि वैकल्पिक बाटो नभएका कारण अन्यत्र सार्न नसकिएको जनाएको छ ।
‘पोल हटाउन हामीलाई समस्या होइन, तर हटाइसकेपछि कहीँ लगेर त पुनस्थापित त गर्नैपर्छ । चलिरहेको लाइन कटाउन न मिल्दैन’, प्राधिकरणको गोरखा वितरण केन्द्र प्रमुख नेत्रमणि न्यौपानेले भने, ‘वैकल्पिक ठाउँको खोजी गरिदिए हामी त्यहाँबाट तत्काल स्थानान्तरण गरिदिन्छौँ ।’




