| मङ्लबार, कार्तिक २४, २०८३

पहिरोले अवरुद्ध लोक्पा–चुम्लिङ पदमार्ग खुलाइदै

पहिरोले अबरुद्ध बनेको चुमनुब्री गाउँपालिका ६ को लोक्पा–चुम्लिङ पदमार्ग खुलाउने प्रयास गरिएको छ । डुयु खोलामा भीषण पहिरो गएपछि बिगत दुई महिनादेखि अबरुद्ध रहेको पदमार्ग शनिबारदेखि खुलाउने पहल गरिएको वडाअध्यक्ष सरोज लामाले जानकारी दिए ।

स्थानीयबासी जुटेर पहिरोमा बाटो खुलाउन श्रमदान गरिएको उनले बताए । लोक्पा र चुम्लिङका बासिन्दा मिलेर शनिबार दिनभर श्रमदान गरिएको उनको भनाइ छ । ‘हामी स्थानीयबासी मिलेर दिनभरि बाटो खन्यौँ’, उनले भने, ‘स्थायी रुपमा समाधान गर्न त सकिँदैन । अस्थायी बाटो निकालेका छौँ । पानी नपरेका बेला पहिरो नझरेको मौका छोपेर वारपार गर्न सकिने भएको छ ।’

लामो समयदेखि बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानी गर्न र स्थानीयबासीलाई आवतजावत गर्न कठिनाइ भइरहेको उनले बताए । ‘बाटो अवरुद्ध हुँदा दुई महिना मानिसहरु आउजाउ गर्न र खच्चडबाट खाद्यान्न ढुवानी गर्न पाएका छैनौँ’, उनले भने, ‘अव अस्थायी रुपमा बाटो बन्यो भने पनि स्थानीयलाई धेरै सहज हुन्छ ।’
बाटो अवरुद्ध हुँदा छेकम्पार र चुम्चेतका गाउँहरुबाट गाउँपालिकाको केन्द्र फिलिम लगायत तल्लो भेग झर्न सकिएको थिएन ।

लोक्पाका बासिन्दा चुम्लिङस्थित वडा कार्यालय जान पनि पाएका थिएनन् ।
गाउँपालिकासित पछि भुक्तानी लिने गरी अहिलेका लागि स्थानीयबासीको लगानीमा बाटो खन्ने काम भएको हो ।

स्थानीयहरु आवतजावत गर्न वैकल्पिक बाटो भएता पनि धेरै टाढाबाट घुमेर जानुपर्ने भएकाले अहिले बनाइरहेको बाटो दिगो नभएता पनि तत्काल समस्या समाधानका लागि धेरै सहयोग पुग्ने वडा अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्