
सबैलाई चाहिने ब्लड वैँक सबै मिली दीगो बनाऔँ
रगतको कमीबाट हुने मृत्युलाई तत्कालै मानिसको रगत दिएर बचाउन सकिने प्रविधि अस्टूेलियन नागरिक डाक्टर कार्ललेण्ड स्टिनरले पत्ता लगाएका हुन् । उनले ए, ओ, एबी रक्त समूहको वर्र्गीकरण गरी हरेक मानिसलाई मिल्दोजुल्दो समूहको रगत दिन सकिने प्रविधिको विकास गरी मानव जातिलाई ठूलो गुन लगाएका हुन् । पछि हरेक समूहमा नेगेटिभ र पोजेटिभ रगत समूह हुने कुरासमेत पत्ता लाग्यो ।
विज्ञान र प्रविधिको यति ठूलो चमत्कार भइसक्दा पनि रगतको कमीबाट हुने मृत्युबाट बचाउन मानिसको रगतको विकल्पमा अरु केही आविष्कार हुन सकेको छैन ।
त्यसैले रगतको आवश्यकता पर्ने व्यक्तिलाई अर्काे व्यक्तिको शुद्ध र समूह मिल्ने रगत सुरक्षित रुपमा तत्काल उपलब्ध गराउनु आजको आवश्यकता हो । तपाईँको रगतले मेरो जीवन बच्छ, मेरो रगतले तपाईको जीवन बच्छ भन्ने मूल भावलाई मनन गरेर रक्तदानलाई जीवनदान भनिएको छ । रक्तदान जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण रगतलाई सुरक्षित रुपमा भण्डारण गर्नु पनि छ । त्यसैले अहिले विभिन्न ठाउँमा ब्लड वैँकहरु स्थापना गर्न थालिएका छन् ।
विभिन्न खालका मानवीय विपत्तिमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवा केन्द्र(ब्लड वैँक) स्थापना गर्ने, सञ्चालन गर्ने जिम्मेवारी बहन गर्दै आएको छ । पहिलो पटक रेडक्रसले वि.सं. २०२३ साउन १२ गते वीर अस्पतालको हातामा रक्त सञ्चार सेवा केन्द्र स्थापना गरी सेवा आरम्भ गरेको थियो ।
आवश्यकता, क्षमता र श्रोतका आधारमा अहिले रेडक्रसले ६८ भन्दा धेरै जिल्लाका एकसय भन्दा धेरै ठाउँमा ब्लडवैँक स्थापना गरी सेवा दिइरहेको छ । हालै गोरखामा पनि रेडक्रसको गोरखा शाखाले ब्लड वैँकलाई जन्म दिएको छ । जन्म रेडक्रसले दिए पनि यसलाई बचाउने, फलाउने, फुलाउने अभिभारा सबैमा छ । सबैको मद्दतले ब्लड वैँकले जीवन्तता पाउँछ । सबैलाई चाहिने ब्लड वैँक सबैले जोगाऔँ ।




