| मङ्लबार, कार्तिक २४, २०८३

१५ औँ आलु मेलाको औपचारिक उद्घाटन

धार्चे ५ गुम्दामा बुधबारबाट सुरु भएको आलुमेला २०७९ बिहिबार औपचारिक रुपमा उद्घाटन भएको छ । गुम्दा युवा एकता क्लवद्वारा आयोजित मेलाको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरेका हुन् ।

क्लवका अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि पालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, वडाअध्यक्षहरु भीमप्रसाद गुरुङ, राकेश गुरुङ, किसान गुरुङ, पूर्व वडाअध्यक्ष तुलबहादुर गुरुङ, धार्चे महिला समूहकी अध्यक्ष राममाया गुरुङ, क्लवका कोषाध्यक्ष बिमाया गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका क्लवका सचिव मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

मेलालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले गुम्दाको स्थानीय जातको आलुलाई प्रवद्र्धन गर्न गाउँपालिकाले पहल गर्ने पनि बताए । साथै यसको पर्याप्त प्रचारप्रसार गरी बजारको व्यवस्थाका लागि पनि गाउँपालिका तयार रहेको बताए । युवा बर्गमा खेलकुदको विकास गर्न गाउँपालिकाले कञ्जुस्याई नगर्ने बताए ।

सोही अवसरमा जिल्ला अन्तरक्लव स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । बिहिबार पहिलो दिन धार्चे ५ पोखरीथोक युवा क्लव यमगाउँ र बारपाक सुलीकोटको ओलाजुङ टिम बीच सम्पन्न महिला भलिबल प्रतियोगितामा ओलाजुङ टिम विजयी भएको छ । त्यस्तै आयोजक एकता युवा क्लव र सूर्योदय मावि बीच भएको खेलमा आयोजक एकता क्लवले जितेको छ ।

पुरुष भलिबल प्रतियोगिता शुक्रबारबाट सुरु हुनेछ । प्रतियोगितामा सहिद लखन, भीमसेन थापा, आरुघाट, चुमनुब्री, धार्चे र बारपाक सुलीकोट गाउँपालिकाबाट खेलाडीहरु सहभागी छन् ।
मेलामा लोकनृत्य प्रतियोगिता र आलु प्रदर्शनी पनि आयोजना गरिएको छ । उत्कृष्ठ आलु कृषकलाई प्रोत्साहनस्वरुप पन्द्रसय, एकहजार र आठसय रुपैयाँ प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्