
तीन वटा सरकारी कार्यालयको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकरण
गोरखामा तीन वटा सरकारी कार्यालयले आर्थिक वर्ष २०७९÷०८० का लागि स्वीकृत कार्यक्रमहरुको सार्वजनिकरण गरेका छन् । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र, भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गोरखाले संयुक्त रुपमा बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकरण गरेका हुन् ।
कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले आर्थिक वर्ष २०७९÷०८० का लागि स्वीकृत कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उनका अनुसार चालुवर्ष जग्गामा व्यवसायिक खेती प्रोत्साहन कार्यक्रमका लागि ५ लाख, साना व्यवसायिक कृषिफर्म स्थापना तथा विस्तारका लागि ८० लाख र साना सिचाई कार्यक्रम संचालनका लागि ५० लाख विनियोजन भएर आएको छ ।
आलुखेती प्रवद्धनका लागि २० लाख, क्लष्टरमा रैथाने बाली संरक्षण कार्यक्रमका लागि ६ लाख, विशेष बाली प्रबद्र्धन कार्यक्रमका लागि २० लाख र मसलाबाली विकास कार्यक्रमका लागि ५ लाख विनियोजन भएको उनले बताए ।
त्यस्तै, तरकारी क्षेत्रफलको आधारमा प्रोत्साहन कार्यक्रमका लागि साढे लाख, फलफूल नर्सरी तथा स्रोत केन्द्र स्थापनाका लागि ५ लाख, विउमा आत्मानिर्भर बनाउन विउविजन कार्यक्रमका लागि १० लाख र ग्रामीण पोषण सुरक्षण कार्यक्रमका लागि २० लाख विनियोजन भएर आएको छ । जलवायुमैत्री नमूना गाउँमा कृषि तथा पशुपन्छी प्रवद्र्धन सम्बन्धी विशेष कार्यक्रमका लागि ७० लाख र अति बिपन्न गरिब वर्गलाई लक्षित गर्दै विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमका लागि ४० लाख विनियोजन भएर आएको उनले जानकारी दिए ।
भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र गोरखाका कार्यालय प्रमुख डा. शर्मिला कुमालले चालु आर्थिक वर्षका स्विकृत वार्षिक कार्यक्रमहरु सार्वजनिकरण गरिन् । उनका अनुसार पाडी तथा बाच्छी हुर्काउनको लागि प्रोत्साहन सहयोग कार्यक्रमका लागि ८ लाख, नयाँ पोखरी निर्माणका लागि ५ लाख, दुध उत्पादनमा प्रोत्साहन कार्यक्रमका लागि २ लाख र घुम्ती गोठ संरक्षणका लागि ५ लाख प्राप्त भएको छ ।
चरनखर्क सुधार कार्यक्रमका लागि ४ लाख, बरुवाल भेडा तथा सिन्हाल बाख्रा संरक्षण तथा प्रवद्र्धन कार्यक्रमका लागि १० लाख र पशुपन्छी स्रोत केन्द्र स्थापनाका लागि २० लाख विनियोजन भएको छ । यस्तै, फार्म यन्त्रिकरण कार्यक्रमका लागि २० लाख, समुदायस्तरमा भेडा प्रवद्र्धन कार्यक्रमका लागि १० लाख र कृषि ऋणमा ब्याज अनुदान कार्यक्रमका लागि ४ लाख ५० हजार विनियोजन भएको उनले बताइन् । व्यवसायिक पशुफार्ममा मलमुत्र संरक्षण सहयोग कार्यक्रमका लागि १२ लाख र जै घाँसको बिउ उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि ४ लाख र साना व्यवसायिक फार्म स्थापना तथा विस्तारका लागि ८० लाख रकम विनियोजन भएर आएको उनले जानकारी दिइन् ।
योसँगै पशुपन्छीपालन सम्बन्धी तालिमहरु र स्थानीय तहमा पशुखोप र सामुदायिक तथा घरपालुवा कुकुर बन्ध्याकरण गर्ने जस्ता कार्यक्रमहरु संचालन हुने कार्यालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय परियोजना इकाई गोरखा पनि विभिन्न कार्यहरु सार्वजनिक गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।




