| मङ्लबार, कार्तिक २४, २०८३

बाबुरामले हँसिया हथौडा स्वीकारेपछि के भन्छन् गोरखाका माओवादी नेता

प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रको हसिया हथौडा चुनाव चिह्न लिएर जनतामाझ जान तयार भएपछि डा. बाबुराम भट्टराईमाथि विभिन्न खालका टीकाटिप्पणी भइरहेका छन्। माओवादी ‘जनयुद्ध’ का एक सूत्राधार भट्टराई शान्ति प्रक्रियापछि सोही पार्टीको उपाध्यक्ष हुँदै प्रधानमन्त्रीसम्म बने। 

२०७२ सालमा नयाँ संविधान जारी भएपछि माओवादी केन्द्रलाई ‘रातो स्टिकर टाँसेको घर’ को संज्ञा दिँदै अलग भएका उनले नयाँ शक्ति, समाजवादी र जनता समाजवादी दल गठन गरेर नेतृत्वको ‘असफल’ अभ्यास गरे। २०७४ सालको चुनावमा नयाँ शक्तिबाट चुनाव जितेका भट्टराईले आफ्नो अस्तित्व भने जोगाउँदै आएका छन्।

पछिल्लो समय जनता समाजवादीबाट समेत चोइटिनुपरेपछि भट्टराईले गोरखा २’ मा आफूलाई सुरक्षित राख्न प्रचण्ड नेतृत्वकै माओवादीतर्फ एकताको हात बढाएका हुन्। निर्वाचनमा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका उम्मेदवारले गोलाकारभित्रको हँसिया हथौडा लिएर प्रतिस्पर्धामा उत्रने सहमति भइसकेको छ।

चासो गोरखा-२ कै 

पहिलो संविधानसभा २०६४ र दोस्रो संविधानसभा २०७० मा माओवादीबाट चुनाव जितेका भट्टराईले पछिल्लो प्रतिनिधिसभा निर्वाचन नयाँ शक्ति पार्टीबाट जितेका हुन्। शान्तिप्रक्रियापछि गोरखाबाट निरन्तर चुनाव जित्दै आएका बाबुराम यसपटक कहाँबाट चुनाव लड्छन् भन्ने चासोको विषय छ। 

बाबुरामका लागि निर्विकल्पजस्तै क्षेत्र हो गोरखा-२। उनले युवा अघि सरे आफू छोड्न तयार रहेको अभिव्यक्ति दिँदै आएकै छन्। तर बाबुराम चुनाव लड्ने तयारीबाट पछि हटेका छैनन्। त्यसैले उनी प्रत्यक्षतर्फ चुनाव लड्ने लगभग निश्चित छ।

गोरखा-२ नारायणकाजी श्रेष्ठको पनि निर्वाचन क्षेत्र हो। नारायणकाजी राष्ट्रियसभाबाट राजीनामा दिएर पनि चुनाव लड्ने मनस्थितिमा थिए। यद्यपि नारायणकाजीका लागि उक्त क्षेत्र त्यति सुरक्षित नरहेको माओवादीकै कार्यकर्ता बताउँछन्। बाबुरामले माओवादीको चुनाव चिह्न लिएपछि नारायणकाजीलाई चुनौती थपिएको नेताहरूको बुझाइ छ।

‘नारायणकाजी पनि चुनाव लड्छु त भनिरहनुभएकै छ। गोरखा-२ मा नारायणकाजीलाई सबै माओवादीहरूले नै अहिलेसम्म स्वीकार गरिसकेका छैनन्। जनयुद्ध लडेकै हैन भन्ने नाममा पनि केहीले उहाँलाई रुचाउँदैनन्। अर्को त उहाँ सबैसँग घुलमिल हुन नसक्नु घाटाको विषय हो,’ गोरखाका एक माओवादी नेताले हिमालप्रेससँग भने, ‘हुन त बाबुरामले माओवादी छोडेर गएर ठूलो गल्ती गरेकै हुन्। उनी स्थिर छैनन्। तर नेताको हिसाबले कुरा गर्दा बाबुराम माथि छन्। उनी जिल्ला आइरहन्छन्। जिल्लाको विकासका बारेमा कुरा गरिरहन्छन्। उनी जोसँग पनि घुलमिल हुन सक्छन्।’

नारायणकाजी, बाबुरामबाहेक पनि माओवादीबाट गोरखामा चुनाव लड्ने हैसियत बनाएका नेता नभएका होइनन्।  पूर्वमन्त्रीसमेत रहेका हितराज पाण्डे, विद्यार्थी राजनीतिबाट उदाएका नेता लेखनाथ न्यौपाने, सांसद चूडामणि खड्का गोरखा-२ बाट आफ्नो राजनीतिक भविष्य खोजिरहेका नेता हुन्।  तर उनीहरूलाई मौका दिन नेताहरू तयार छैनन्।

यहाँ गठबन्धन दलबीच तालमेल गर्नुपर्ने भएका कारणले पनि समस्या छ। अर्को ठूलो दल नेपाली कांग्रेसले २०७४ सालमा बाबुरामलाई समर्थन गरेको थियो। अघिल्लो पटक बाबुरामलाई सहयोग गरेका कारण अब आफूहरू यसपल्ट नछाड्ने पक्षमा रहेको बताउँछन् कांग्रेस नेताहरू। माओवादीकै चुनाव चिह्न स्वीकार गर्न बाबुराम राजी भएसँगै गोरखाको राजनीति अझै तात्ने पक्का छ। 

माओवादीका थप बलियो हुने  विश्वास

माओवादी केन्द्र गोरखाका इन्चार्ज कृष्ण धिताल बाबुराम माओवादीकै चिह्नमा चुनाव लड्न सहमत हुनु सकारात्मक भए पनि उनको विगत  विवादास्पद रहेकाले पत्याइहाल्न सजिलो नरहेको बताउँछन्। ‘अहिलेसम्म हेर्दा उहाँ (बाबुराम) को आचरण ठिकै छ। अबका दिनमा विगतका गल्ती दोहोर्‍याउनु हुन्छ कि हुन्न त्यसले आगामी यात्रा तय गर्छ,’ धितालले हिमालप्रेससँग भने, ‘बाबुराम पुरानै चिह्न लिएर लड्ने कुरा राम्रो कुरा हो। उहाँ माओवादीको चुनाव चिह्न लिएर लड्दै गर्दा सहयोग हुन्छ। पार्टी बलियो हुन्छ भन्ने लागेको छ।’ गोरखामा पुरानै शक्ति फर्काउन सक्ने अवस्थामा पुग्ने विश्वास उनले व्यक्त गरे। 

माओवादीमा गोरबाटबाट केन्द्रमा सहजै पहुँच राख्ने नेतामध्ये एक हुन् चूडामणि खड्का। उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को स्वकीय सचिव भएर पनि काम गरिसकेका नेता हुन्। गोरखाबाट समानुपातिक सांसद रहेका खड्काले पनि बाबुरामले माओवादीको चुनाव चिह्न स्वीकार गरेकोमा खुसी व्यक्त गरे। उनले बाबुराम माओवादीमै फर्किएको खण्डमा मा‌ओवादीको पूरै शक्ति फर्किने विश्वास व्यक्त गरे।

‘बाबुराम दाइ लामो छलफलपछि माओवादीकै चुनाव चिह्नमा लड्न तयार हुनु स्वागतयोग्य छ। अब उहाँ चुनाव लड्नुहुन्छ या हुँदैन थाहा भएन। पार्टी नै एक भएर जानेसम्मको कुरा भइसकेको छ,’ खड्काले भने, ‘उहाँका लागि हाम्रो पूर्ण सहयोग रहन्छ। हामी गोरखामा स्थानीय तहकै निर्वाचनबाट केही शक्तिसहित आइसकेका छौँ। बाबुराम दाइ पनि आएपछि हामीलाई अब गोरखाको शक्तिका रुपमा स्थापित गर्न र गोरखाको विकासका लागि काम गर्न अझै सहज हुने विश्वास पनि छ।’   

अर्का नेता परशुराम रम्तेल पनि बाबुरामले हँसिया हथौडामा चुनाव लड्ने कुरालाई स्वागत गर्दै यसलाई राष्ट्रिय आवश्यकता भएको बताउँछन्।  ‘राष्ट्रिय आवश्यकता भएर पनि होला बाबुराम दाइले हँसिया हथौडा स्वीकार गर्नुभयो,’ रम्तेलले भने, ‘उहाँ गोरखाबाट फेरि चुनाव लड्ने अवस्था आए माओवादीले पूर्ण सहयोग गर्छ जिताउँछ।’ 

उनी बाबुरामलाई प्रचण्डले नै स्वीकार गरिसकेपछि अरुले विरोध गर्नुको कुनै अर्थ नरहने बताउँछन्। ‘प्रचण्डले भनिसकेपछि कसले काट्न सक्छ अहिले। अध्यक्षले स्वीकार गरिसकेपछि अरुले बाबुरामलाई स्वीकार नगर्ने भन्ने नै हुँदैन। यो आवश्यकता थियो, भयो,’ उनले भने।  

News Source : www.himalpress.com

प्रतिक्रिया दिनुहोस्