| बिहिबार, असार १०, २०८३

‘प्रतिविम्बमा पृथ्वीनारायण’ आरम्भ


तल्लो दरबारका नामले चिनिने गोरखा संग्रहालयमा अब पृथ्वीनारायण शाहसंग साक्षात्कार गर्न पाइने भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले तल्लो दरबारको मूलगेटमा नक्कली पृथ्वीनारायण शाहको स्वरुपमा एक व्यक्तिलाई सजाएर उभ्याइनेछ ।


पृथ्वीनारायण शाहको प्रतिविम्ब बनाएर तल्लो दरबार गेटमा राखिने कार्यको बुधबार शुभारम्भ गरिएको छ । गोरखा सदरमुकाममा प्रभातफेरि गरी संग्रहालय परिसरमा एक औपचारिक कार्यक्रमका बीच नगरपालिकाका मेयर कृष्ण रानाले ‘प्रतिविम्बमा पृथ्वीनारायण शाह’को आरम्भ गरिएको हो ।


कार्यक्रममा मेयर राना, उपमेयर सपना पुन, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, समितिका अध्यक्ष सुरेशमान श्रेष्ठ, प्रतिविम्बमा पृथ्वीनारायण शाहका अवधारणाकार पूर्व प्रहरी एसपी राजुबाबु श्रेष्ठ लगायतले पृथ्वीनारायण शाहको प्रतिविम्बको महत्वका बारेमा चर्चा गरेका थिए ।


‘अबदेखि ऐतिहासिक गोरखा जिल्ला भ्रमणमा आउनेले पृथ्वीनारायण शाहसित फोटो खिचाउन पाउनेछन्’, अवधारणाकार श्रेष्ठले भने, ‘पृथ्वीनारायण शाहसित फोटो खिच्ने स्थानीयले २० रुपैयाँ तिर्नुपर्नेछ । जिल्लाबाहिरका र विदेशी पर्यटकले ५० रुपैयाँ तिर्नुपर्नेछ ।’ समूहमा तस्वीर खिच्नेले एकसय रुपैयाँ र पृथ्वीनारायण शाहको पोशाकमा तस्वीर खिचाउनेले तीनसय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको उनले बताए । पृथ्वीनारायण शाहसित कालु पाण्डेको प्रतिविम्ब पनि राखिने छ ।


साथै पृथ्वीनारायण शाहको पोशाक लगाएर घोँडा चढेर बजार परिक्रमा गर्न पनि पाइने भएको छ ।


गोरखा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह जन्मेको ठाउँ हो । माझकोटस्थित माथिल्लो दरबार पृथ्वीनारायण शाह जन्मेको दरबार हो भने तल्लो दरबार राजा राजेन्द्रका लागि बनाइएको इतिहासमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्