
सात बर्षपछि बाबुराम फर्किए हँसिया हथौडामै
नयाँशक्ति पार्टी नेपाल, समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टीको नौ बर्षे यात्रापछि डाक्टर बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र)कै छहारीमा आइपुगेका छन् ।
२०७२ असोज ३ मा संविधान सभाबाट संविधान जारी गरेको नौ दिनपछि माओवादीबाट भड्किएर २०७३ जेठ ३० गते नयाँशक्ति नेपाल पार्टी गठन गरी संयोजक बनेका थिए ।
त्यसपछि विभिन्न पार्टी चाहारेका भट्टराई फेरि पुरानै घरको छत्रछायाँमा फर्केका हुन् ।
उनी अब हुने प्रतिनिसभाको चुनावमा हँसिया हथौडा चिन्हमा गोरखा क्षेत्र नं. १ अथवा क्षेत्र नं. २ बाट चुनाव लड्ने अनौपचारिक सहमति भएको छ । यसअघि गत २०७४ को चुनावमा भट्टराईले कांग्रेससित गठबन्धन गरी गोरखा २ बाट माओवादीका उम्मेद्वार नारायणकाजी श्रेष्ठलाई फराकिलो मतान्तरले जितेर प्रतिनिसभा सदस्य बनेका थिए ।
स्रोतका अनुसार चुनावपछि दुवै पार्टी एक भएर जाने समेत सहमति भएको छ । माओवादी केन्द्रमा गाभिन प्रचण्डको जोडबल छ भने समाजवादी केन्द्र बनाउन बाबुराम भट्टराईको प्रस्ताव छ ।
आइतबार बिहान मौखिक समझदारी बनेको एउटै चुनाव चिन्ह र घोषणा पत्रको बिषयलाई सोमबार लिपिवद्ध गरेर औपचारिकता दिने तयारी रहेको डाक्टर भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।




