| सोमवार, कार्तिक २३, २०८३

मध्यपहाडीको काम निराशाजनक

कुन विकास निर्माणको काम छ र उत्साहजनक ? अगाडि, पछाडि, दायाँ, बायाँ जता फर्के पनि जुन काम हेरे पनि निराशाजनक नै भेटिन्छ । ११ किलो छेपेटार, भालुस्वाँरा बारपाक सडकको हालत उस्तै खराब, गोरखा आरुघाट सडकको अबस्था पनि उस्तै, बेनिघाट, आरुघाट, लार्के सडकको हालत झन खराब । नाम लिँदै जाँदा धेरै लामो बन्न सक्छ । समग्रमा सबैको अबस्था उस्तै छ ।

बर्षौँदेखि सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्गको गोरखा खण्डको कामले गति लिन सकेको छैन । सँधै यसबर्षभित्र कालोपत्रे हुन्छ भनेको घ्याम्पेशाल, कयभञ्ज्याङ, सिमलाफेद, टारीफाँट सडकको कामले गति लिएको छैन । घ्यम्पेशाल, मसेल, निवेलको काम पनि उस्तै छ । सातदोबाटो ठाँटीपोखरी सडकको कामको हालत पनि ज्यूँका त्यूँ छ ।

मध्यपहाडीको ओख्ले खण्डको काम २०७१ पुसदेखि सालमा सम्झौता भई सुरु भएको हो । काम जिम्मा लिएका रसूवा÷इलाइट÷सुर्य जेभीले पटक पटक म्याद थपेपछि सम्पन्न गर्ने भनिएको गत असार मसान्तसम्म ८५ प्रतिशत मात्रै काम गरेका छन् ।

ओख्ले घ्याम्पेशाल निबेल सडक खण्डको काम मात्रै चार पटकसम्म म्याद थप भयो तर काम सकिएको छैन । २०७२ माघदेखि एम.पी.÷एस.सि.एफ.÷इ.सि.सि.जे.भी निर्माण कम्पनीले काम सुरु गरेको सो खण्डमा हालसम्म ६० प्रतिशत मात्र काम भएको छ । चौँथो पटकको म्याद २०७८ चैत्र मसान्तसम्म रहेको भएपनि निर्माण कम्पनीले काम नगर्दा यो खण्ड पनि अलपत्र छ ।

त्यस्तै, पालुङटार चेपे पाउँदी सडकखण्डको हाल सम्म ८५ प्रतिशत मात्र काम सम्पन्न भएको इन्जिनियर श्रेष्ठले बताए । २०७२ बाट काम सुरु गरेको बज्रगुरु÷दि कन्चनजंघा शंकरमाली जेभी हाल सम्म चार पटक म्याद थप हुँदा समेत काम पूरा गर्न सकेका छैनन् ।
२०७७ सालबाट सुरु भएको निबेल नयाँसाघु मसानेठाँटी सडक खण्डको पनि जम्मा ५२ प्रतिशत काम भएको छ । आयोजनाद्वारा निर्माण हुने भनिएको पुल निर्माणको कामको हालत पनि उस्तै छ ।
निराशै निराशलाई हटाएर अब उत्साहजनक रुपमा काम गराउन आयोजना कार्यालयले कडा कदम उठाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्