| सोमवार, कार्तिक २३, २०८३

बारपाक सडकको कुरा, कहिले हुन्छ पूरा

जुन सडक निर्माणका लागि भनेर कार्यालय नै स्थापना भयो, त्यही सडक निर्माण सम्पन्न नगरी ११ किलो छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालयले १५ बर्ष गुजारिरहेको छ ।

२०६४ को संविधान सभा निर्वाचनपछि बनेको सरकारमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री र हिसिला यमी भौतिक पूर्वाधार मन्त्री हुँदा ११ किलो छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालय खडा गरी काम सुरु भएको थियो ।

सडकको टूयाक खन्न त्यसअघिदेखि नै सुरु भए पनि प्रोजेक्ट अफिस स्थापना भएपछि कामले तिब्रता पाएको थियो । गोरखाको विशेषगरी क्षेत्र नं. २ लाई छिचोल्ने गरी गोरखा आँबुखैरेनी सडकको बारकिलोबाट बारपाकसम्म सडक बनाउने लक्ष्य लिइएको थियो ।

तर कार्यालयले जिल्लाभर टुक्रे सडकहरु प्रसस्तै खन्यो । डाँडाकाँडा छिचोल्यो, तर बारपाक सडक कहिल्यै पूरा गर्न सकेन । बारपाक सडकको नाममा धेरै ठेकेदारले घर, घडेरी जोडे, कैयौँ इञ्जिनियर लखपति, करोडपति बने, कैयौँ राजनीतिक पार्टीका नेताहरुले यही सडकको नामबाट सहरमा महल ठड्याए तैपनि बारपाक सडक निर्माण सम्पन्न भएन । कैयौँ नेताहरु बारपाक सडक निर्माण सम्पन्न गर्छु भनेर संसद बने, मन्त्री पनि बने, उपप्रधान तथा प्रधानमन्त्री पनि बने । तर बारपाक सडक अझै निर्माण सम्पन्न भएन ।

अहिले पनि बारपाक सडक बन्नुछ, किनभने अझै नेता छन्, उनीहरुलाई यही नाम भजाएर सांसद, मन्त्री बन्नुछ । यही सडकका नाममा बजेट निकासा गराएर कार्यकर्ता पाल्नु छ, आफू पालिनुछ । अझै धेरै किशोरकिशोरीले इञ्जिनियरिङ पढेका छन्, यसैको नाममा जागिर खानुछ, घुस खानुछ ।
अहिले पनि बारपाक सडक बर्षेनी हिउँदको आठ महिना मात्र चल्छ । बाँकी चार महिना सडक दरौँदीमा बग्छ, अर्थात सडकमा दरौँदी बग्छ ।

प्रतिक्रिया दिनुहोस्