| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा कांग्रेस–माओवादी बिच बरावर सिट बाँडफाँड हुन्छ : केन्द्रिय सदस्य पाण्डे

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखामा कांग्रेस–माओवादी बिच संघ र प्रदेशमा बरावर सिट बाँडफाँड हुने बताएका छन् । ‘यहाँको मतान्तर हेर्न हो भने कांग्रेस र माओवादी उस्तै छ’ नेपाल प्रेस युनियन गोरखाले बिहिवार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने ‘गठबन्धनका अन्य दलको कमजोर उपस्थिती भएकाले यहाँ दुई पार्टी बिच बरावर क्षेत्र बाँडफाँड हुन्छ ।’ जिल्ला र केन्द्र स्तरका नेताहरुसँग पनि यसै अनुसार छलफल भईरहेको उनले बताए ।

गोरखामा दुईवटा संघिय निर्वाचन क्षेत्र र चारवटा प्रदेश क्षेत्र छ । गोरखा क्षेत्र नम्बर २ कांग्रेसले लिने र १ माओवादीलाई दिने गरी सहमती हुन सक्ने उनले बताए । ‘यस अघिको निर्वाचनमा गोरखा २ कांग्रेसले बाबुराम भट्टराईका लागि छाड्यो’ उनले भने ‘रुखमा भोट हाल्न नपाएको भनेर कार्यकर्ता असन्तुष्ट छन्, यो पटक गोरखा २ मा कांग्रेसको उम्मेदवार हुनुपर्छ भन्ने कार्यकर्ता, सुभेच्छुक सबैको माग छ ।’ गत निर्वाचनमा कांग्रेसको मतबाट बिजयी भएपछि भट्टराईले कार्यकर्ताको भावना बिपरित ब्यवाहार र अभिब्यक्ति दिएकाले धेरैको मन पोलेको उनले बताए ।

गत निर्वाचनमा गठबन्धन भएकै कारण छाड्नु परेको बताउँदै उनले यस पटक आफुले भट्टराईका लागि नछाड्ने दावी गरे । साथै उनले यस विषयमा आफुले डाक्टर भट्टराईलाई जानकारी दिईसकेको र केन्द्रिय सभापति समक्ष पनि जिल्लाको अवस्था, कार्यकर्ताको चाहना अनुसार कुराकानी गरिसकेको बताए ।

‘फेरी कांग्रेस बाहेकलाई गठबन्धनबाट टिकट दिँदा त्यहाँका कार्यकर्ताले बिद्रोह गर्न सक्छन्, हामीले अपेक्षा गरे अनुसार परिणाम नआउने खतरा पनि हुन सक्छ’ केन्द्रिय सदस्य पाण्डेले भने । साथै उनले आफु पनि गोरखा २ का लागि उम्मेदवार भएको बताए । ‘मेरो चाहना हो, तर पार्टीको निर्णय बाँकी छ’ उनले भने ।

२०७० साल, २०७४ सालमा संसदिय समितिले निर्णय गरेर पनि महिला सिट संख्या पु¥याउने, गठबन्धन गर्ने नाममा आफुले चुनाव लड्न नपाएको बताउँदै उनले अहिले आफ्नो दावी स्वभाविक रहेको बताए । दुई क्षेत्रमा एक÷एक वटा लिएर कांग्रेस माओवादी गठबन्धन सहित जाँदा चुनाव जित्ने दावी उनको छ ।

गठबन्धन दलले उम्मेदवार चयन गर्दा भने एक अर्को पार्टीका कार्यकर्ताले भोट हाल्ने खालका चयन गर्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय राजनीतिको आवस्यकता अनुसार गठबन्धन दलहरुले आफ्ना उम्मेदवारलाई बिजयी गराउन नसकेको खण्डमा गठबन्धनको औचित्य नहुने केन्द्रिय सदस्य पाण्डेले बताए ।

कांग्रेस केन्द्रले भदौ २ गतेबाट देशभर कार्यकर्ता परिचालन गर्ने तयारी रहेको उनले बताए । चुनाव केन्द्रित कार्यक्रम सुरु गरिसकेको गोरखा कांग्रेसले अग्रजहरु सँग अन्तरक्रिया, वडादेखि पालिका र जिल्लास्तरमा रहेकाहरु सँग छलफल सुरु गरिसकेको जनाएको छ । उनी यीनै कार्यक्रममा सहभागी हुन गोरखा आएका हुन् । प्रेस युनियन गोरखाका अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य अब्दुल सतार, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने लगायतको पनि उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्