| सोमवार, कार्तिक २३, २०८३

कहिले फिर्छ, विजुलीचोरको सुद्धी

धनी र गरिब धनले नभै मनले निर्धारण गर्छ । ‘धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन’ भन्ने त पहिलेदेखि चलिआएकै कथन हो । धनको धनी भएर पनि मनको धनी हुन नसकेकाहरु समाजमा बग्रेल्ती भेटिन्छन् ।

दुख आपतमा परेकालाई खाद्यान्न वितरण गर्न सक्ने हैसियत भएकाहरु पनि भूकम्पका बेला चारमाना खाद्यान्न वितरणको लाइनमा हात थाप्न उभिएको जो कोहीले देखे, भेटेकै हो । यसले उनीहरुको मन र संस्कार प्रदर्शन गर्छ ।

ठाउँ कुठाउँबाट विद्युत हुकिङ गरी घर तथा फाराममा प्रयोग गर्ने विजुली चोरहरुसित विद्युत प्राधिकरणले गत आर्थिक बर्ष ६ लाख भन्दा धेरै जरिबाना असुल ग¥यो । जम्मा ६४ जनासित मात्र जरिबाना असुल उपर गर्दा छ लाख भन्दा धेरै रकम संकलन भएको हो ।
मासिक २० रुपैयाँ महशुल तिर्न बोझ ठान्ने उनीहरु बास्तविक गरिप नभै हरिप हुन् । त्यसैले २० रुपैयाँ महशुल छल्दा पाँच हजार रुपैयाँ जरिबानामा फँसेका छन् ।

धेरै ठाउँमा मिटर बाइपास गरेर र डाइरेक्ट हुकिङ गरेर विजुली चोर्ने गरेको भेटिन्छ । प्राधिकरणका अनुसार गोरखामा सालिन्दा २८ हजार दुईसय ५४ युनिट विद्युत चोरी हुन्छ ।

प्राधिकरणका अनुसार गोरखामा समग्रमा १३ दशमलब ०३ प्रतिशत विजुली चोरी हुने गरेको छ । अघिल्लो बर्ष २०७७÷०७८ मा १५ दशमलब १३ प्रतिशत भएकोमा गतबर्ष केही घटेको देखिन्छ ।

मनको गरिब हुनु भनेको चेतनाको अभाव हो, ज्ञानको कमी हो । त्यसैले प्राधिकरणले चुहावट न्यूनिकरण र नियन्त्रण गर्न विद्युतका विविध पक्षहरुका बारेमा सचेतना अभियान पो सञ्चालन गर्नुपर्ने हो कि ? मन्थन गर्नु जरुरी छ । कतिपय ठाउँमा बल मात्र भन्दा पनि वुद्धि प्रयोग गर्दा प्रभावकारी र दीगो समस्या समाधान निस्कन सक्छ ।

प्रतिक्रिया दिनुहोस्