| मङ्लबार, कार्तिक २४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको सभापतिमा भीमसेन श्रेष्ठ

पूर्व पत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको तदर्थ कार्यसमिति गठन भएको छ । गोरखा सदरमुकाममा सोमबार भएको पार्टीको जिल्लास्तरी भेलाले गण्डकी गाउँपालिका फुजेलका भीमसेन श्रेष्ठको नेतृत्वमा सो पार्टी गठन भएको हो । उपाध्यक्ष र सचिव थाती राखेको छ ।

सो कार्यक्रममा जिल्लाका ११ वटै स्थानीय तहमा संयोजक तोकेको श्रेष्ठले बताए । आगामी भदौ ४ गतेभित्र जिल्लाका ९४ वटै वडामा र पालिकामा कार्यसमिति चयन गरी सार्वजनिक गर्ने उनले जानकारी दिए ।

सो भेलालाई केन्द्रीय समितिका सभापति लामिछानेले भर्चुअल विधिमार्फत सम्बोधन गरेका थिए । लामिछानेले देश सम्हाल्ने जिम्मेवारी युवाको काँधमा आएको र जनताले असल नेतृत्व छानेर पठाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पार्टी संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले पार्टीको विधान, पार्टीको रणनीति, कार्ययोजनाका साथै आगामि रणनीतिका बारेमा जानकारी गराएका थिए । पुराना राजनीतिक दलप्रति जनताको वितृष्ण भएकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको उनले बताएका थिए । त्यस्तै, गण्डकी प्रदेश सदस्य डा. ढाका कुमार श्रेष्ठले पैसाको अभावले कुनै पनि विरामीले उपचार पाउनबाट बन्चित नहुने गरी काम गर्ने बताए ।

केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख बुर्लाकोटीको प्रमुख आतिथ्यतामा तथा पार्टीका गण्डकी प्रदेश कमिटीका सभापति डा. ढाकाकुमार श्रेष्ठको सभापतित्व सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सदस्य एजिला गुरुङ, कुसुम महर्जन, बसुमाया तामाङ र पार्टीको प्रदेश सदस्यहरु विशेष पन्त, बोधराज रेग्मी, सितला थापा, श्याम सेन्चुरी, ढाका कुमार थापा लगायत मन्तव्य राखेका थिए । कार्यक्रमलाई गण्डकी प्रदेश सदस्य विशेष पन्तले सहजीकरण गरेका थिए ।

सभापति श्रेष्ठ गण्डकी गाउँपालिका वडा नं ३ फुजेलका हुन् । मिसन नेपालका उपाध्यक्षमा समेत रहेका उनी सामाजिक अभियन्ता पनि हुन् । उनी विभिन्न व्यवसायको फर्म संचालन गर्दै आएका छन् । सभापतिमा चुनिएसँगै अव संगठकको विस्तार कार्यमा जोड दिने बताए ।

प्रतिक्रिया दिनुहोस्