| सोमवार, कार्तिक २३, २०८३

बारपाक आसपास बिगत दुईघण्टादेखि भीषण बर्षा, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह


भूकम्पको केन्द्रविन्दू बारपाकलाई केन्द्रविन्दू बनाएर अहिले भीषण बर्षा भइरहेको छ । सोमबार अपराह्न चारबजेदेखि साँझ छ बजेसम्म भीषण बर्षा भएको स्थानीय मनु तामाङले जानकारी दिए ।


उनका अनुसार भीषण बर्षापछि दरौँदी नदीमा ठूलो बाढी आएको छ । बाढीले बालुवाको पक्की पुल जोखिम बनाएको छ । गतबर्ष बाढीले भत्काएको ठाउँमा लगाएको तारजाली अहिले पनि सो बाढीले भत्काउने प्रयास गरिरहेको उनले बताए ।


यसैबीच गोरखाको बारपाक र आसपासको क्षेत्रमा पछिल्लो एक घण्टा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले दरौंदी नदी र अन्य ससाना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने तथा कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले तटीय क्षेत्रमा हुनेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्