
बालवालिकालाई फाईजर खोप लगाउन गोरखाका स्वास्थ्यकर्मीलाई तालिम
बालवालिकालाई फाईजर खोप लगाउने संम्बन्धी स्वास्थ्यकर्मीलाई तामिल दिइएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजना र एफएचआई ३६० को सहयोगमा पालुङटारमा साउन २० देखि तालिम सुरु भएको हो ।तालिममा गोरखाका ११ वटै स्थानीय तहका खोप कार्यकर्ता, स्वास्थ्य शाखा प्रमुखहरु, स्वास्थ्य चौकी प्रमुखहरु लगायतको उपस्थिती रहेको स्वास्थ्य कार्यालयका नानीबाबु दानीले बताए ।
गोरखामा भदौ ५ देखि बालवालिकालाई कोरोना बिरुद्धको फाईजर खोप लगाउने तयारी छ । चुमनुब्री बाहेकका १० वटा गाउँपालिकाका हरेक विद्यालयमा खोप केन्द्र संचालन गरेर भदौ ८ गते सम्म पाँच वर्षदेखि ११ वर्ष उमेरका बालवालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालयका प्रमुख नरजंग ठकुरीले बताए ।
फाईजर खोप नयाँ खोप भएको र बालवाकिलाई लगाउनुपर्ने भएकाले शंवेदनशिल खोपमा पर्छ । कसरी खोप लगाउने, सुरक्षित कसरी गर्ने भन्ने बारेमा स्वास्थ्यकर्मीलाई तालिम दिइएको हो । ‘कुन दिन कति जना बालवालिकालाई कसरी खोप लगाउन सकिन्छ भन्ने योजना हरेक पालिकाको स्वास्थ्यकर्मीले संयुक्त रुपमा बनाउँछन्’ स्वास्थ्य कार्यालयका नानीबाबु दानीले भने ‘तालिम सँगै योजना बनाएपछि भदौ ५ गतेबाट जिल्लाभर एकै साथ सुरु हुन्छ ।’
गोरखामा ५ देखि ११ वर्ष उमेरका एक लाख भन्दाबढि बालवालिका छन् । स्वास्थ्य कार्यालयले खोप बाहेकका अन्य सामग्री ल्याईसकेको र केहीदिनमा फाईजर खोप जिल्लालाई पुग्ने गरी आउने जनाएको छ ।
स्वास्थ्य कार्यालय गोरखाका प्रमुख नरजंग ठकुरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख बिवस चिन्तन, प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, वडा नम्बर ४ का अध्यक्ष मानबहादुर पौडेल लगायतले मन्तब्य राखेका थिए । उक्त तालिममा गोरखा जिल्लाभरका गरी चार सय स्वास्थ्यकर्मी सहभागी हुने स्वास्थ्य कार्यालयले जनाएको छ । तालिम साउन २६ गते सम्म चल्नेछ ।
तालिममा चुमनुब्री बाहेकका स्वास्थ्यकर्मी सहभागी छन् । आउजाउमा समस्या भएकाले चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी सहभागी छैनन् । उनीहरुका लागि पछि छुट्टै तालिम संचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।




