
गोरखाको यारुबगरमा ढुंगा लागेर घाइते भएका पुलसिङको काठमाडौमा उपचारको क्रममा निधन
धार्चे गाउँपालिका १ यारुबगरमा पहिरोमा परी भाइते भएका खच्चड धनी पुलसिङ गुरुङको निधन भएको छ । काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा शनिबार राती उनको निधन भएको हो ।
चुमनुब्री गाउँपालिका ३ फिलिममा खाद्यान्न पु¥याई फर्केका धार्चे ७ भीरकुनाका ३७ बर्षीय गुरुङ यारुबगरमा हिँडिरहँदा पहिरोमा खसेका ढुंगा लागेर गम्भीर घाइते बनेका थिए । गत शुक्रबार विहान १० बजे तिर घाइते भएका गुरुङको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको चुमनुब्री ३ का स्थानीय विरबल घलेले बताए ।
ढुंगा लागेर गम्भीर घाइते भएका उनलाई सोहि दिन चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको समन्वयमा तत्काल हेलिकोप्टर बोलाएर उद्धार गरी काठमाडौँ पु¥याइएको थियो । तर उनको काठमाडौ उपचारको क्रममा हिजो राती निधन भएको उनले बताए ।
मृतक गुरुङको शव पोस्टपार्टन भइसकेको छ । आजै काठमाडौको स्वयम्भुमा मृतक गुरुङको दाहसंस्कारका लागि आफन्तहरु जुटिरहेको उनले बताए ।




