| मङ्लबार, कार्तिक २४, २०८३

ताप्लेको जुगेपानीमा सडक मर्मतपछि गाडी चल्यो, जोखिम भने कायमै

गोरखा–आरुघाट सडक खण्डको गोरखा नगरपालिका २ ताप्लेस्थित जुगेपानीमा एक सातादेखि अवरुद्ध सडक मर्मतपछि सुचारु भएको छ । वर्षातका कारण सडक भासिएपछि अवरुद्ध भएको थियो ।

‘साउन ११देखि कहिले अवरुद्ध हुने कहिले खुल्ने भएको थियो, धेरै सवारी साधन ओहोरदोहोर गर्न सकेन’, वडा नम्बर २ का अध्यक्ष रहमतुल्ला मियाँले भने, ‘शनिवार दिउँसोदेखि एकतर्फ गाडी चल्ने गरी सडक बनेको छ ।’ अहिले बनेको सडक भने अस्थायी रुपमा संचालन हुने गरी मात्रै तयार भएको उनले बताए । पानी परेपछि जुनसुकै बेला सडक अवरुद्ध हुन सक्नेछ ।

उक्त खण्डमा एक सय मिटर सडक भासिएको छ । जतिसुकै बेला सडक अवरुद्ध हुने सक्ने भएपछि आहालेभञ्ज्याङबाट कुवापानी गाईखुर हेल्पोष्ट हुँदै बैकल्पिक सडकपनि तयारी अवस्थामा रहेको वडा अध्यक्ष मियाँले बताए ।

पहिरोको दीर्घकालीन समाधान गर्न धेरै खर्च लाग्ने र त्यसका लागि नगरपालिका, सडक डिभिजन कार्यालयसँग समन्वय भईरहेको उनले बताए । आरुघाट–गोरखा सदरमुकाम जोड्ने मुख्य सडक भासिएर अवरुद्ध हुँदा यात्रुहरु मसेल निवेल, छेपेटार हुँदै आउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्