
आरुघाट गाउँपालिकाको बेरुजु : नम्सको पर्वाह नगरी खर्च
आरुघाट गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट रू एक करोड ५३ लाख ८२ हजार बेरुजू देखिएको छ । यो कूल बजेटको १.३३ प्रतिशत हो ।
गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ ।
संघीय सरकारबाट ससर्त अनुदान रकम आर्थिक वर्षको अन्त्यमा खर्च नभई बाँकी रहेमा सम्बन्धित सञ्चित कोषमा फिर्ता गर्नुपर्नेमा आर्थिक वर्षको अन्त्यमा १२ लाख ३९ हजार बाँकी रहेको रकम फिर्ता नगरी गाउँपालिकाको सञ्चित कोषमा जम्मा गरी राखेको पाइएकाले सो रकम बेरुजु बनेको छ ।
त्यस्तै यातायातको साधन लिएका दुईजना वडाअध्यक्षहरुले बेलाबेला यातायात खर्च भनेर पनि लिने गरेको पाइएकाले सो बापतको २९ हजार रुपैयाँ पनि महालेखाले बेरुजु देखाएको छ । कोभिडका बेला शिवशक्ति प्राविका विद्यार्थीहरुलाई अनलाइन कक्षा पढ्न सियुजी सिमकार्ड खरिदका लागि निकासा दिएको रकम खर्च नभएकाले सो रकम पनि बेरुजु देखिएको छ ।
गाउँपालिकाभित्रका माध्यमिक विद्यालयलाई इन्टरनेट जडानबापत बार्षिक १२ हजार रुपैयाँका दरले निकासा भएकामा खर्च नभएकाले एकलाख ५६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
आरुघाट, भञ्ज्याङ, बाँसबोटे, तिरतिरे, सिस्नेरी, सातदोबाटो, गैरीछाप सडक निर्माणको क्रममा पिके निर्माण सेवालाई दिएको पेश्की फस्र्यौट नभएकाले दुईलाख रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै पालिकाको धारापानी माविलाई तीन कोेठ भवन निर्माणका लागि निकासा दिइएको १८ लाख रुपैयाँको काम निर्धारित मितिसम्म सम्पन्न नगरेकाले सो रकम पनि बेरुजु देखिएको छ ।
पालिकाले छहजार १२७ बाख्रालाई भ्याक्सिन लगाएको भनी प्रतिबाख्रा पाँच रुपैयाँका दरले भ्याक्सीनेटर वासुदेव पोख्रेललाई रु ३० हजार ६३५ भुक्तानी भएको छ । तर पाँच हजार ३९२ वटाको मात्रै भ्याक्सीन लगाएको भरपाइ पेश भएको छ । सात सय ३५ वटाको भरपाई बिना भुक्तानी भएकोले बढी भुक्तानी भएको रु तीन हजार ६७५ बेरुजु देखिएको छ ।
त्यस्तै पालिकाले पुँजीगत तथा चालु प्रकृतिका बस्तु वा सेवा विनाप्रतिस्पर्धा युनाइटेड वायर एण्ड स्टीलल्स इन्डस्ट्रिज, ग्याभिन बक्स नेपाल प्रालि र न्यानो कपडा आपूर्ति गर्ने पवित्र गार्मेण्ट इन्डस्ट्रिजसित २१ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
सुन्तला तथा विभिन्न फलफूल जातका बिरुवा वितरण गर्दा सप्लायर्स बीच प्रतिस्पर्धा गराई सबैभन्दा कम दररेट भएकासित खरिद गर्नुपर्नेमा बिना प्रतिस्पर्धा सोझै आपूर्ति गरिएकाले सातहजार छसय रुपैयाँ पनि बेरुजु देखिएको छ । आरुपोखरीको दरबार माविमा १० हजार ५०१ रुपैयाँ वढी निकासा भएकाले सो रकम बेरुजु भएको छ । वडा नं. १० ले पेश गरेको पत्रमा चार जनाको मृत्यु मिति उल्लेख नगरेको तर दोस्रो चौमासिकमा भत्ता वितरण गरेको देखिएको छ । त्यसबापत ४२ हजार रुपैयाँ बेरुजु देखिएकोछ ।
अदक्ष कामदारको जिल्ला दररेट रु ७७० र दक्ष कामदारको रु १०७० निर्धारण गरिएको छ । तुरतुरे कालिका मन्दिर सिद्धदेवी गोरटो वाटो निर्माणमा र स्थानीय स्तरका सडक ढल कुलो निर्माणमा माटो खन्ने कार्यमा डोलीको नम्र्स अनुसार बढी दररेटमा भुक्तानी भएको छ । नरम माटोको दर रु ३८५ हुनुपर्नेमा रु ५५५ भएकोले रु १७० फरक परेको देखिन्छ ।
यसबापत कूल छ हजार रुपैयाँ बेरुजु देखिएको छ । भीमोदय बहुमुखी क्याम्पसको रिटेनिंग वाल निर्माण कार्यमा सिमेन्ट प्रतिबोरा रु ८३० का दरले कायम गरेकोमा उपभोक्ता समितिले रु ६८० प्रति बोराका दरले विल पेश गरेकाले सो निर्माण कार्यमा रु ८३०४। बढी भुक्तानी भएकोले सो रकम बेरुजु दाखिला गर्न महालेखाले आग्रह गरेको छ ।
बिभिन्न चारवटा योजनाहरुमा उपभोक्ता समितबाट काम गराएकोमा श्रमदानको अंश कम कट्टा गरी उपभोक्तालाई बढी भुक्तानी दिएकोले रु एकलाख १६ हजार बेरुजु देखाइएको छ ।
रानीस्वाँरा मोटरबाटो सरसफाई कार्यमा वडा कार्यालय स्तुतखोला साईटको विभिन्न चेनेजमा कडा माटो खन्ने कार्यमा बढी भुक्तानी भएको छ । कडा माटो खन्ने कार्य २४.८७५ घ.मीको रु ८२.८० का दरले भुक्तानी गरेकाले नौ हजार चारसय बेरुजु भएको छ ।
त्यस्तै पालिकाले थुमी कफी उतपादक सहकारी संस्था र खनाल कृषि तथा पशुपंक्षी फर्मलाई पालिकाबाट ३५ हजार रकम बढि भुक्तानी भएकाले बेरुजु देखाइएको छ ।
बाँदर धपाउने कार्यक्रम, विपत प्रतिकार्य कार्यक्रम र सिँचाइ पाइप सामग्री खरिद कार्यक्रममा तीनलाख छ हजार रुपैयाँ बेरुजु भएको छ । कोरोना पिसिआर तथा एण्टिजेन परीक्षण कार्यक्रममा निर्मला राना मगरले एकै दिन दुईपटक भत्ता बुझ्दा दुईहजार पाँचसय रुपैयाँ बेरुजु देखिएको छ ।
कोभिड व्यवस्थापनका क्रममा पालिकाले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि छुट्याइएको कोषबाट खर्च गर्नुपर्नेमा वित्तीय समानिकरण पुँजीगत कार्यक्रम शीर्षकबाट खर्च गरेकाले २६ लाख ५८ हजार बेरुजु देखाएको छ ।




