| मङ्लबार, कार्तिक २४, २०८३

सहिद लखनको बेरुजु : बढि दररेटमा भुक्तानीको समस्या धेरै

आर्थिक बर्ष २०७७/०७८ मा सहिद लखन गाउँपालिकाको बेरुजु रू एक करोड ३० लाख २१ हजार बेरुजू देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखा परीक्षणमा सो पालिकाको कूल बजेटमा यो ०.९८ प्रतिशत हो ।

स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका कमी कमजोरी नगरपालिकाको लेखापरीक्षणका क्रममा भेटिएको छ ।

एउटा सब बजेट उपशीर्षकमा विनियोजन भएको रकम अर्को सव बजेट उपशीर्षकमा खर्च गर्न नमिल्ने व्यवस्था छ । विभिन्न नौ वटा उपशीर्षकमा निकासा भएको बजेट पालिकाले शिक्षक, कर्मचारीहरुको तलब भत्तामा खर्च गरेको देखियो । परिवर्तित शीर्षक अनुमोदनका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा पत्राचार गरे पनि खर्च समर्थन नगरेकाले ३१ लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

सार्वजनिक सुनुवाई नियमित प्रकृतिको कार्यक्रम भएको हुँदा कर्मचारी तथा जनप्रतिनिधिलाई भत्ता दिन मिल्ने व्यवस्था नभएको हुँदा त्यसबापत भुक्तान भएको एकलाख ३० हजार रुपैयाँ बेरुजु देखाइएको छ ।

पाँच जना कर्मचारीको वार्षिक पारिश्रमिकको कर कट्टी नगरेकाले त्यसबापत २१ हजार रुपैयाँ बेरुजु देखिएको छ । पालिकाभित्रका ४६ वटा सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य तथा सुरक्षा मापदण्ड विकासका लागि प्रतिविद्यार्थी रु दुईसयका दरले आठलाख ७० हजार रुपैयाँ अनुदान दिइएकामा सोबाट खरिद भएका स्वास्थ्य सामग्रीको बिल बिजक पेश नभएकाले सो रकम बेरुजु देखिएको छ ।

त्यस्तै पालिकाभित्रका ३५ विद्यालयलाई इन्टरनेट सेवा जडानका लागि प्रतिविद्यालय १२ हजार रुपैयाँका दरले अनुदान प्रदान गरेकामा ती विद्यालयहरुमा इन्टरनेट जडान भए नभएको प्रमाण पेश नभएकाले त्यसबापत हुन आउने पाँचलाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
गाउँपालिकाको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने क्रममा पालिकाले क्रेटर कन्स्ट्रक्शनलाई काम सम्पन्न भएको भन्दा बढि रकम भुक्तानी दिएको छ ।

त्यसैले बढि भुक्तानी भएको दुईलाख ८२ हजार रुपैयाँ बेरुजु भएको छ । त्यस्तै जुम्लीचौतारा, राइनास, बुटार सडक निर्माण गर्ने निर्माण कम्पनीलाई पनि तीनहजार रुपैयाँ बढि भुक्तानी दिएकाले सो पनि बेरुजु देखिएको छ । काउलेभँगार रिपथोक सडक स्तरोन्नति गर्ने काममा पनि पालिकाले न्यू गोरखा मनकामना कन्स्ट्रक्शनलाई बिना बिल भरपाई १८ हजार रुपैयाँ भुक्तानी गरेकाले सो बेरुजु देखिएको छ ।

कार्यालयले किविको विरुवा खरिद गरी वितरण गर्न एकलाख ७४ खर्च गरेको छ । जसमा किवि विरुवा वितरण गर्दा प्रतिगोटा तीनसयका दरले ५८० वटा विरुवा खरिद गरेको छ । सरकारी मुल्य सूची भन्दा दुईसय रुपैयाँ बढीका दरले भुक्तानी भएकाले एकलाख १६ हजार रुपैयाँ पालिकालाई बढी व्ययभार पारेकाले सो रकम बेरुजु भएको छ ।

एभोकाडो कलमी विरुवाको प्रति विरुवा रु १०० निर्धारण गरिएको छ । विन्दवासिनी कृषि फर्मबाट नामजुङ्ग वुङ्कोट एभोकाडो क्षेत्र विकास समितिले ३४०० वटा एभोकाडो रु । १४० का दरले खरिद गरी जम्मा रु ४ लाख ७६ हजार भुक्तानी गरिएको छ । सो कार्यक्रममा पनि तोकिएको दर भन्दा रु ४० प्रति विरुवा बढी दरमा भुक्तानी हुन गएको छ ।

यस शीर्षकमा एकलाख ३६ हजार रुपैयाँ बेरुजु देखाइएको छ ।
नौ जना स्वास्य स्वयंसेविकालाई प्रदान गरिएको यातायात खर्चको बिल भरपाई पेश भएको छैन । विभिन्न कृषक समूहलाई भकारो सुधार कार्यक्रम अन्तर्गत सम्पन्न भएको कामको ५० प्रतिशत मात्र रकम उपलब्ध गराउनु पर्नेमा बढी रकम भुक्तानी भएको छ । त्यसैले सो बापतको ९८ हजार रुपैयाँ बेरुजु गराइएको छ ।

विभिन्न सात वटा पूर्वाधार निर्माणको काममा उपभोक्ता समितिले खरिद गरेको ईट्टामा विजक मूल्य भन्दा बढी मूल्य राखेर दररेट निर्धारण गरिएको छ । त्यसैले त्यसबापत तीनलाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ । विभिन्न योजनाको ग्याभिन तारजालीको मुल्य जिल्ला दररेट अनुसार निर्धारण भएकोमा औसत मुल्य राखेर भुक्तानी दिएको छ ।

जसले गर्दा तोकिएको दर भन्दा बढी भुक्तानी भएको देखियो । सिमेण्ट खरिद गर्दा पनि सर्वसाधारण उपभोक्ताले तिरेको दररेट भन्दा पालिकाले भुक्तान गरेको दररेट बढि देखिन्छ ।
भैँसीपोल गोरेटो बाटो निर्माण कार्यमा हुनुपर्ने भन्दा बढि भुक्तानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्