| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा सदरमुकामको बसपार्क–ठूलो आँगन हुदैँ गीता मन्दिरसम्म ठूला सवारी साधन प्रवेशमा रोक

गोरखा सदरमुकामको बसपार्कदेखि ठूलो आँगन हँुदै गीता मन्दिरसम्मको बाटोमा ठूला सवारी साधनलाई निषेध गरिएको छ ।
पुरातात्विक महत्वका भौतिक संरचनाहरुको र ढुङ्गा बिछ्याएर बनाइएको बाटोको संरक्षण गर्न हेभी तथा ठूला सवारी साधन आउजाउमा रोक लगाएको वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशीले बताए ।

‘पुरातात्विक महत्वका संरचनाहरुको संरक्षणका लागि ठूला गाडीहरु आउन नदिन जिल्ला प्रशासन, प्रहरी कार्यालय र ट्राफिकलाई पत्राचार गरिसकेका छौँ,’ उनले भने, ‘हामीले बसपार्क र पदेलीचोकमा ठूला सवारी साधन निषेध गर्नका लागि पोस्टर पनि टाँस्न लगाएका छौँ ।’ सदरमुकामको पुरानो बसपार्क देखि ठूलो आँगनहँुदै पाटेचौर, गीता मन्दिर क्षेत्रमा ठूला र हेवी सवारी साधन तथा सवारी साधनहरु प्रवेश निषेध गरिने उनले बताए ।

यस अघि पनि यो बाटो बन्द गरेर वैकल्पिक बाटोका रुपमा चिल्डे«न पार्कबाट ठूला सवारी साधनहरु आउजाउ हुने गथ्र्यो । सो सडक कालोपत्रे गर्ने काम भइरहेको र केही महिनाका लागि ठूलो आँगनबाट बाटो खुल्ला गरिएको थियो । तर कालोपत्रे समयमै नसकिएकाले ठुलो आँगनहुँदै जाने बाट बन्द गर्ने निर्णय गरिएको वडा अध्यक्ष जोशीले बताए । अब ठूला सवारी साधनलाई वैकल्पिक बाटो बसपार्क, कालोबर, धारापानी, चिल्ड्रेन पार्कको बाटोबाट संचालन गर्न सकिनेछ ।

धेरै लोड भएका ठूला सवारी साधनले बाटोमा बिछ्याइएका ढुङगाहरु उप्किने र ढुङ्गा तल दबिने गरेका स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्