
जरेबर पुल बहश : रहर र आवश्यकतामा फरक
पाँच करोड ३९ लाख रुपैयाँ लागतमा २०७९ जेठ १२ गते निर्माण सम्पन्न गर्ने गरी एचटिसी, गणेशकुण्ड, आइएएस निर्माण सेवाले २०७७ जेठ १३ गते जरेबर पुल निर्माणको ठेक्का लियो ।
गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको अग्रसरतामा सोही मन्त्रालयअन्तर्गत गोरखाको पूर्वाधार विकास कार्यालयले सो पुल बनाएको हो । सो जेभी कम्पनीले हालसालै पुलको करिब ९३ प्रतिशत काम सम्पन्न गरेको छ । पुलको रुपरेखा तयार भएपछि, ‘सडक नभएको ठाउँमा पुल ?’ भन्ने बिषयले चर्चा पायो । नेपाल जस्तो विकासको भोको देशलाई विकासका हरेक पूर्वाधारको रहर हुन्छ ।
आफ्नो गाउँघरमा सडक बनोस् भन्ने रहर कसलाई हुँदैन ? ठाउँ–ठाउँमा पक्कीपुल, झोलुंगेपुल, आफ्नो खेतबारीमा सिँचाइ कुलो, आफ्नो गाउँघरमा खानेपानी धारा, नजिकै स्वास्थ्यचौकी, विद्यालय, प्रहरी चौकी बनोस् भन्ने इच्छा कसलाई हुदैन ? जरेबरमा मोटरेबल पुल बनेको छ । सडक बन्यो भने जरेबर र गोरखा बजार जोड्ने छोटो बाटो बन्नेछ । यो धरातलीय सत्य हो । यसमा विवादै छैन । तर भेद ‘इच्छा’ र ‘जरुरी’मा छ, अर्थात ‘आवश्यक’ र ‘अत्यावश्यक’मा छ ।
यो पुलको बारेमा केही दिनअघि सामाजिक सञ्जालमा बाहिरिएको थियो । सोमबार राती र मंगलबार बिहान राष्टिूय, स्थानीय सञ्चार माध्यममा प्रकाशन भएपछि यो बिषय चर्चाको चुलीमा पुग्यो । तर्क, बितर्क, कुतर्कहरु काफी आए । सबैलाई आफ्नो तर्क बलियो र मर्मस्पर्शी लाग्नु अस्वभाविक छैन । तर तर्कहरु बस्तुगत भन्दा आत्मगत बढि थिए । शव्दले एउटा कुरा व्यक्त गरिरहेको थियो, अन्तर्यले अर्कै । ‘के लेखियो ?’ भन्दा पनि ‘किन लेखियो’ खोजी धेरै थिए । समाचारका ‘थिम’ भन्दा समाचारले दिएको ‘चोट’को बचाउ प्रसस्त थिए ।
पुल नहुँदा बर्खामा सञ्चालनमा नआएका सडक गोरखामा छैनन् ? पुल नहुँदा विद्यार्थी स्कूल जानबाट बञ्चित भएका, वा बाढीमा हेलिएर विद्यालय जानु परेको अबस्था गोरखामा छैन ? के हिउँदमा बनाएको फड्के बाढीले लगेपछि एउटा गाउँ र अर्को गाउँको आवतजावत विच्छेद भएको अबस्था गोरखामा छैन ? के मुढा तेस्र्याएर वारपार गरिरहनु परेको वा बाढीमा हेलिएर घाँस दाउरा तार्नु परेको दृश्य गोरखामा छैनन् ?
रहर र आवश्यकताको मर्म यहाँनेर छ । पूर्वाधार बनेको छ, स्वागतयोग्य छ, तर सडक नबनेको ठाउँमा ‘रित्तो पुल’ रहर हो कि आवश्यकता ? संगै दाँजेर हेरौँ, पुल नभएकै कारण बर्खामा सडक अबरुद्ध भएका ठाउँमा पुल बन्नु रहर हो कि आवश्यकता ?




