
ताप्लेमा सडक भासिएपछि गोरखा आरुघाट सडकमा यातायात अवरुद्ध
गोरखा आरुघाट सडक खण्डमा आजबिहानदेखि यातायात अवरुद्ध भएको छ । गोरखा नगरपालिका २ ताप्लेमा सडक भासिएपछि सवारी साधन संचालन हुन नसकेको प्रहरीले जनाएको छ ।
जुगेपानी भन्ने ठाउँमा पहिरो गएको हो । शनिवार पनि सडक भत्किएपछि जेसिभी लगाएर सडक बनाइएको थियो । आईतवार रातीको पानीले फेरी सडक अवरुद्ध भएको र खुलाउने तयारी भईरहेको वडा अध्यक्ष रहमतुल्ला मियाँले बताए ।
गोरखादेखि आरुघाट, घ्याम्पेशाल, बोर्लाङ लगायत ठाउँमा जाने यात्रु तथा मालबहाक सवारी साधन चल्न सकेको छैन ।
यस अघि पनि पहिरो बगिरहने उक्त ठाउँमा सडक भासिएपछि थप जोखिम बढेको हो । सडक माथिको बस्ती समेत जोखिममा परेको वडा अध्यक्ष मियाँले बताए ।




